मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'म पवन आज तमासा भएको छु'

अनुप भट्टराई, काठमाण्डौ, 2010/12/04

सायद उनलाई कसले पो चिन्दैन होला  । के बालक, के बृद्ध, के युवा सबैले उनलाई देख्न साथ ऊ पवन मैनाली भनेर आँखा र औलाले इशारा गर्छन्  । काठमाण्डौको कपनमा ७२ बर्षीय बृद्ध चिकित्सक पिता गोबिन्द प्रसाद मैनालीको प्रत्यक्ष रेखदेखमा साहै कठिन  जीवन विताई रहेका सफल  कलाकार तथा निर्माता पवन मैनालीको अवस्था निकै दया लाग्दो छ ।  

 

आज भन्दा ठीक ८ बर्ष अघि २०५९ साल फागुन ८ गते  बिहान ८ बजे  बारा जिल्लाको निजगढमा दुर्घटनामा परेपछी उनको कलाकारिता जीवन हात खुट्टा र शरिर जसरी भाँचिए उनको जीवन पनि त्यसरी नै भाँचिए जस्तै भएको छ ।  स्प्यास्टिक हेमोप्लेजियाको शिकार समेत भएका ४४ बर्षे अविवाहित पवन राम्रोसँग हिड्न बोल्न र खान  सक्दैनन् । प्रत्येक दिन बिहान उपचारका लागि अकुपंचर गर्न एक सहयोगीका साथ कपन बाट चाबहिल चुच्चेपाटी लरवराउदै हिडेर पुग्ने पवनलाई बाटामा सवैले चिनेर हेर्ने गर्दछन् ।



कलाकार भएकाले आफुलाई चिनेर त्यसरी सवैले हेरेपछी निकै तनाव हुने भन्दै पवनले आँशुका धारा बगाउदै भने,  'हिड्न , लाउन , खान सक्दिन, त्यसैले म पवन आज तमासा भएको छु ।' 
स्वास्थ्यमा क्रमिक सुधार भएपनि आफ्नो त्यस्तो जिन्दगीदेखि निकै हरेश खाएका विरामी पवनले आफैलाई आफू धेरै भएको  समेत बताएका छन् । पिताको साहारामा डेरामा बस्दै आएका पवनको कोठा करिब १ सयको संख्यामा अवार्ड, प्रशंशा पत्र र पूराना तस्बिरले भरिभराउ छ तर स्याहार गर्ने कोही मान्छे नभई दिंदा ती सवै रछ्यानमा परिणत भएका छन् ।



दुर्घटना पश्चात दुई बर्ष सम्म अचेत अवस्थामा रहेका पवनको उपचारका लागि आज सम्म दुई करोड भन्दा बढ्ता रकम खर्च गरिसकिएको पिता  गोविन्दले जानकारी दिए । उनी भन्दै थिए, 'यसकै उपचारको लागि सम्पूर्ण धनसम्पत्ती सकें ।' अन्र्तवार्ताको क्रममा प्रत्येक मिनेटमा गहभरी आँशु पार्दै दुःख पोख्दै पवनले भने, 'मलाई नाम मात्र धेरै भो  । अब बाच्न मन छैन । यस्तो हुनु भन्दा बरु  पहिले मरेको भए हुन्थ्यो ।'  तर अब त सुधार हुदैछ नि तपाईको स्वास्थ्य भन्दा आशाका नयाँ किरण अनुहारमा पोख्दै उनले भने, 'यदि म निको भए भने पहिलेको बायु पवन तुफान भएर आउने छ ।'  'हात चल्ने भएको भए म धेरै कथा लेखेर बस्थ्ये तर त्यो पनि चल्दैन', उनले भने । यध्पी आफ्नो दिमागमा एउटा चलचित्र लेखिसको उनको भनाई थियो । पवनको त्यो चलचित्रको नाम खरानी हो । आफ्नो जीवनलाई लक्षित गर्दै उनले तयार गरेको सो कथामा मान्छेको जीवन केही हैन शिवाय खरानी भन्ने सन्देश दिने खोजेको उनले बताए । 



२०४९ सालमा चेतन कार्कीको चलचित्र  'पहिलो प्रेम' बाट कलाकारिता जिवन सुरू गरेका मैनालीले करिब १ सय को संख्यामा फिल्ममा अभिनय गरिसकेका छन् । दुर्घटना पूर्व उनले किशोर रानाको चलचित्र 'शिवशक्ति' मा अभिनय गरेका थिए । दुर्घटना भएको समयमा निर्देशक महेन्द बुढाथोकीलाई लिएर उनले दीदीबहिनी भन्ने चलचित्र बनाएका थिए जुन चलचित्र अझै पनि पोष्टप्रोडक्सनमा छ ।   निखिल उप्रेतीको डेब्यू फिल्म पिजडाको निर्माता समेत रहेका पवनले निखिललाई आफूले नै निखिल बनाएको बताए । 



दुर्घटनाको सुरूका दिनमा निखिलले आफूलाई केही सहयोग गरे पनि त्यसपछी नगरेको पवनको गुनासो थियो । यस्तै उपचारका लागि सुरूका दिनमा  विभिन्न क्षेत्रबाट धेरै सहयोग आए पनि अहिले भने त्यस्तो सहयोग गर्ने दाता नभेटिएको पवन पिताको गुनासो छ  । पवनलाई चलचित्र बिकास बोर्डले हाल सम्म करिब ५० हजार, कलाकारले २५ हजार, बेल्जियमबाट नायक श्रीकृष्ण श्रेष्ठको पहलमा १ लाख १० हजार, चुरेभावर एकता समाजका अध्यक्ष एवं सभासद केशव मैनालीको सिफारिसमा माधव नेपाल सरकारले  ५० हजार रकम दिएको छ  ।


त्यति रकमले पवनको उपाचार पूर्ण हुन नसकेको भन्दै पत्रकार विदुर गिरीको हौसालमा अहिले सम्म पवन बाचेको पिता मैनालीले बताए । यदि पवनको उपचारको लागि थप सहयोग कसैले गरिदिए पवन पूर्ण रूपमा निको हुने बृद्ध पिताले फिल्मीखबर समक्ष  अनुरोध समेत गरेका छन् । सानो औषधी पसलको भरमा ७ जनाको परिवार पाल्नु कि उसको उपचार गर्नु भन्दै मैनाली पिताले भने, 'चाहेर पनि आफ्नो एक्लो कमाईले भने जस्तो उपचार पवनलाई गर्न सकेको छैन । उनको भरमा पवन सहित  एक बुहारी, उनको भाई,  दुई नातिनि र एउटा काम गर्ने सानी बालिका बाचिरहेका छन् ।


यदि पवन मैनालीलाई तपाईहरू आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने काठमाण्डौ गौशाला स्थित कृषि विकास बैकंको शाखामा पवन पिता गोविन्द प्रसाद मैनालीको खाता नम्बर ०४२६५२ मा रकम जम्मा गर्न सक्नु हुन्छ ।



मैनालीलाई बिवाहको प्रस्ताव


यस्तै विरामी पवनको अवस्था देखेपछी रोल्पा घर भएकी ३८ बर्षीया ग्र्याजुएट एन. जि. ओ. की जागिरे  सरिता हमालले  पवनसंग बिवाह गर्ने प्रस्ताव गरेकी छिन् । ६ महिना अघि माया थापा भन्ने एक महिलाको सहयोगमा उनीहरूको भेट पवनको डेरा कपनमा भएको थियो ।



पवनको दयालाग्दो अवस्था देखेपछी ती अधवैशे महिलाले पवनसंग बिवाहको प्रस्ताव गरेकी हुन्। पवन पिताको अनुसार यत्रो उमेर भैसक्दा पनि नाम नकमिएको भन्दै ती महिलाले बरू विरामी पवनको सेवा गरी उनीसंग बिवाह गर्दा नाम कमिने भन्दै पवनसंग विबाह गर्ने प्रस्ताव गरेको बताए ।



आफूलाई माया गर्ने मान्छे पाए पछी पवन पनि निकै खुशी छन् । उनीहरू बीच फोनमा निरन्तर कुराकानी पनि भैरहन्छ । तर पवन पिताले चिकित्सक भएको नाताले ती महिला कुनै पनि प्रकारको रोगी भएको नभएको परिक्षण गरेर मात्र विबाह गर्न  स्वकृति दिने बताएका छन् । यदि ती महिलामा  कुनै प्रकारको रोग नभए यहि मंसिर महिना भित्र उनीहरूको बिवाह गरिदिने पिता मैनालीको योजना छ ।