मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाटो मुनिको फूलको बिशेष प्रोमोशन

अर्पण ढकाल, धरान, 2010/12/08

उपत्यका भित्र र पश्चिमका हलहरुमा मंसीर १० गतेबाट प्रदर्शनमा आएको चलचित्र 'बाटो मुनिको फूल' पूर्वका करिब ९ वटा सिनेमा घरमा प्रर्दशन भइरहेको छ । यसैक्रमा आफ्नो चलचित्रको प्रमोशनको लागी देश दौडाहामा निस्कने बाटो मुनिको फूल युनिटले यति वेला पूर्वका विभिन्न सिनेमा घर र विभिन्न स्थानमा विविध कार्यक्रम मार्फत बग्लै किसिमबाट चलचित्रको प्रचार प्रसार गरिरहेको छ । यसप्रकारको प्रचार प्रसारले चलचित्रको व्यापारमा ठिकै फाइदा पुर्‍याईरहेको बुझिएको छ ।  चलचित्र धरान, झुम्का, बाँसबारी, मोरङ, विराटचौक दमक, विर्तामोडलगायतका चलचित्र भवनहरूमा प्रदर्शन भईरहेको छ ।

 

चलचित्र पुर्वमा रिलिज भएको प्रथम दिन मंसीर १७ गते शुक्रवार उपत्यका बाहिर पहिलोपल्ट कृष्ण टाकीज विर्तामोडमा झापाका विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थितीमा रेडकार्पेट सहित प्रिमियर गरिएको थियो । जसमा नायक बाबु बोगटीले चलचित्रको चर्चित गीत तुलसी गाएर उपस्थित सम्पूर्णलाई नचाएका थिए । विर्तामोडमा गरिएको प्रिमियर लगत्तै शनिवार धरानको गणेश टाकीजमा पनि चलचित्रको विशेष कार्यक्रम सहित प्रर्दशनी गरिएको थियो । शनिवारको दुईवटा शो धरानमा हाउसफुल भएको थियो जहाँ बाबु बोगटी, यश कुमारले गीतसंगीत त प्रस्तुत गरे नै चलचित्र हेरिसकेर बाहिर निस्केका दर्शकसँग चलचित्रको बारेमा प्रतिक्रया समेत लिएका थिए । गणेश टाकीजको प्राङ्गणमा कलाकारलाई हेर्न फोटो खिच्न र अटोग्राफ लिन दर्शकको आइरो लागेका थियो ।


यसैगरी आइतवार पनि चलचित्रको युनिट निलकण्ठ चित्रमन्दिर दमकमा चलचित्र हेर्न आएका दर्शकलाई मनोरञ्जन प्रदान गरे भने सोही समय दमक बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा एक बिशेष कार्यक्रमको आयोजना गरी त्यहाँ उपस्थित झन्डै पाँच हजार दर्शकलाई चलचित्रको गीतसंगीत सुनाउनुका साथै चलचित्रको जानकारी समेत गराएका थिए । सोमबार भने मोरङ्ग विराटचौक स्थित सुकुना चलचित्र मन्दिरमा कार्यक्रम सम्पन्न गरेर साँझ मोरङ पथरीमा पनि जेसिसको आयोजनामा चलचित्रको प्रमोशन सहित कार्यक्रम गरेका थिए । सम्पन्न भएका सम्पूर्ण कार्यक्रममा चलचित्रका नायक बाबु बोगटी र यश कुमार मुख्य आकर्षण केन्द्रविन्दु बनेका थिए ।


देशभर रहेका करिब ४८ लाख दलितको सामाजिक विषय वस्तु उठान गरिएको चलचित्रको व्यापारबाट आफुहरु उत्साहित रहेको निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । चलचित्र रिलिज भएको पहिलो हप्ता भन्दा दोस्रो हप्ता देशभरका हलमा चलचित्रको पिकअप राम्रो रहेको उनको कथन छ । उता चलचित्रका निर्माता मध्य एक राजेश घतानी चलचित्र इतिहास रच्दै अगाडी बढेको दाबी गर्दै पुर्वका दर्शकले दिएको प्रतिक्रियाबाट थप हौसला मिलेको बताउछन् । चलचित्रको यस प्रकार प्रमोशन अहिले सम्म नेपाली सिने जगतमै पहिलो पल्ट भएको उनको दाबी छ ।