नेपाली चलचित्र उद्योगमा बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र 'ब्याच नम्बर १६' यही फाल्गुन १३ अर्थात २५ फेब्रुअरी २०११ का दिनदेखि प्रदर्शनमा आउने पक्का पक्की भएको छ ।
सफल एडिटर एवं ब्याच नम्बर १६ का कार्यकारी निर्माता सुरेन्द्र पौडेलका अनुसार चलचित्र ब्याच नम्बर १६ डिसिएन जडित हलहरुबाट नेपालभर एकसाथ प्रदर्शनमा आउन लागेको हो । साईलेन्स इन्टरटेनमेण्टको पहिलो प्रस्तुतिको रुपमा रहेको सो चलचित्र एक्सन तथा थ्रिलर बिषयबस्तुमा आधारित रही युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको हो । चलचित्रलाई नवनिर्देशक पिताम्वर पाण्डेले निर्देशन गरेका हुन् ।
छांयाकनको बेला देखिनै हाई-बजेटमा चलचित्रको रुपमा चर्चा कमाएको यस चलचित्रका कार्यकारी निर्माता सुरेन्द्र पौडेलका अनुसार चलचित्रमा साडे एक करोड भन्दा बढीको लगानी भएको छ । चलचित्रको काठमाण्डौं, पोखरा, जोमसोम, चितवन, मुडे, नवलपरासी लगायतका ठाउँहरुमा छाँयाकन भएको हो ।
बिक्रान्त श्रेष्ठको निर्माण रहेको चलचित्र ब्याच नम्बर-१६ मा सुमन सिंह, रुवी भट्टराई, सुष्मा कार्की, ममता प्रधान र नव प्रस्तुतिको रुपमा अर्पण थापाका अलावा रंगमञ्चका हस्ती अनुप बरालको पनि सशक्त अभिनय रहेको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छांयाकन, पिताम्बर पाण्डे तथा सोयल ठक्करको लेखन, सुगम पोखरेलको संगीत, रिनाशा राईको नृत्य, रोशन श्रेष्ठको द्वन्द एवं बुद्धिलाल मगरको निर्माण ब्यबस्थापन रहेको छ ।