प्रदर्शनको समय अनुकुल नभएको अवस्थामा चलचित्रको व्यापार खस्कदैं गएपछि निर्माता तथा निर्देशक शंकर घिमिरेले आफ्नो चलचित्र 'वीरताको चिनो' को प्रदर्शन समय परिवर्तन गरेका छन् ।
तिहार लगत्तै प्रदर्शन गर्ने भनिएको उक्त चलचित्र सो समयमा प्रदर्शन हुन नसकेपछि उनले पुष महिनामा चलचित्र प्रदर्शन गर्ने तयारी गरेका थिए तर पछिल्लो समयमा सबै चलचित्रले राम्रो व्यापार नगरेको देखेर उनले यो समय उचित नभएको भन्दै माघ १४ गते प्रदर्शन गर्ने योजना बनाए । माघ १४ गते दुई चलचित्र 'स्वर' र 'दिलमाया' प्रदर्शन हुने थाहा पाएपछि सो समय पनि उचित नदेखेपछि उनले माघ २१ गतेलाई रोजे । प्रदर्शनको समय सर्दै गएको चलचित्र 'वीरताको चिनो' अन्तत: माघ २१ गते देशभर एकसाथ प्रदर्शन हुने निर्देशकले बताए ।
वर्ल्ड वाइड मुभी मेकर्स प़ालिको दोस्रो प्रस्तुती रहेको नेपाली चलचित्र 'वीरताको चिनो' मा बिराज भट्ट, सुमन सिंह ,ऋचा घिमिरे, धुर्ब दत्त ,शोभिता सिंखडा, कल्याण घिमिरे, रन्जना शर्मा, सुशील पोखरेल आदी कलाकारहरूले अभिनय गरेका छन् । सुरेश अधिकारीद्वारा संगीतबद्ध चलचित्र 'वीरताको चिनो' अनिश्चित भविष्य बोकेका चारजना विपरीत धर्मालम्बी युवा मित्रहरुको जीवनमा आधारित छ ।
श्याम सुवेदी, श्याम कार्कीको लगानी रहेको सो चलचित्रमा देशको माया तथा राष्ट्रियता, धार्मिक सहिष्णुता, आपसी सौहार्दताको चित्रण गरिएको छ । चलचित्रले वर्तमान अवस्थाका तीता यथार्थको चित्रण गर्दै नेपाली समाजमा रहेका धेरै मुद्दालाई उठाएको छ ।