सञ्चारकर्मी तथा कागबेनी निर्देशक भुषण दाहालले कुनै एक निर्देशकको ब्यबहारको कारण आफूले चलचित्र निर्देशन यात्रा सुरू गरेको बताएका छन् ।
आईतबार एक कार्यक्रममा जीवनकालमै पहिलो पटक प्रमुख अतिथि बनेका भुषणले बीस बर्ष अघिको त्यो मुटु बिझ्ने शब्द सम्झना गर्दे भने, 'नेपाल टेलिभिजनको प्राङगणमा सो समयका एक चर्चित निर्देशकले मैले सोधेको प्रश्नको जवाफ उत्साह पूर्वक नदिएकाले त्यो उत्तर अझै पनि मेरो कानमा गुञ्जिरहेको छ ।' त्यो समय भुषणले ती निर्देशकलाई फिल्म बनाउन कत्तिको गाह्रो छ भनी प्रश्न गर्दा निर्देशकले त्यसको जवाफमा 'तिमिहरू टेलिभिजन गर्ने मान्छे सानो मिडियममा काम गर्र्छौ त्यसैमा रमाउ यो क्षेत्र निकै ठूलो हुन्छ' भनी प्रतिक्रिया दिएको कहिल्लै बिर्सन नसकेको बताए ।
कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता समेत रहेका भुषणले त्यही इखको कारण नेपालमा पहिलो पटक डिजिटल फर्मयाटको चलचित्र कागबेनी बनाएको सम्झिए । ३ बर्ष अगाडीको डिजिटल फर्मयाटमा फिल्म सुरू गर्दा सवैले आफूहरूलाई सफल हुदैन भनेर आलोचना गरेका थिए तर आज ८० प्रतिशत नेपाली फिल्महरू डिजिटलमा पद्धतीमा बनेकाले निकै खुशी लागेको भुषणको भनाई थियो । कुनै निर्देशकसंगको इखले पहिलो चलचित्र कागबेनी बनाएका भुषणले अब चाडै नै दोस्रो फिल्म बनाउने तयारी समेत गरिरहेको बताए ।