आठौं काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा ब्राजिलियन मार्कोस नेग्राओ र आन्द्रे रान्जेल निर्देशित चलचित्र 'द ब्रोकन मुन' ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ ।
मंसिर २३ देखि राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा पाँच दिनसम्म चलेको सो महोत्सवमा प्रतिस्पर्धाका १९ चलचित्रलाई पछि पारेर 'द ब्रोकन मुन' ले सर्वोत्कृष्ट फिल्मको अवार्डसँगै १ हजार ५ सय अमेरिकी डलर पनि हात पार्यो । त्यसैगरी माइकल डिलोन निर्देशित अष्ट्रेलियाली चलचित्र 'अ लिटल बिट मंगोलियन' ले दोस्रो अवार्डसँगै १ हजार अमेरिकी डलर हात पार्यो भने क्यारेना म्याकडायरद्धारा निर्देशित क्यानडेली चलचित्र 'साइनिङ स्पिरिट : द म्युजिकल जर्नी अफ जमयाङ एसी' ले तेस्रो अवार्डसँगै ५ सय अमेरिकी डलर पायो ।
यता दर्शक छनौट अवार्ड भने केसाङ छेतेन निर्देशित चलचित्र 'सेभिङ डोल्मा' ले पायो । नेपाल पानोरामा तर्फ देखाईएका ६ नेपाली चलचित्र मध्ये मुरे केर निर्देशित चलचित्र 'बिरामी शहर' उत्कृष्ट भयो । सो चलचित्रले ३० हजार रुपैयाँ सहित ट्रफी हात पार्यो । नेपाली पानारोमा अन्तर्गत शवनम मुखिया निर्देशित चलचित्र 'डरका आँसुहरू' ले स्पेसल मेन्सन अवार्ड पायो ।