नेपाली चलचित्रका अवैध भिसिडीहरु बजारमा बारम्बार आईरहेका छन् । तर यस्ता भिसिडीहरु बजारमा आएपनि कोही पनि व्यक्ति दिर्घकालीन रुपमा यसको समाधानमा लागेको पाईदैन । नत चलचित्रका निर्माताबाट तेह्र प्रतिशत भ्याट अशुल्ने सरकार नै समाधानका लागी तातेको छ नत चलचित्र सम्वन्धी संघसंस्था नै ।
बारम्बार निस्कने यो पाईरेसी प्रकरण फेरी पनि देखिएको छ । पूर्वाञ्चलका बिभिन्न शहरमा प्रर्दशन भईरहेका र प्रर्दशन हुन बाँकी नेपाली चलचित्रका नक्कली भिसिडी बजारमा आए पछि सिङ्गो चलचित्र बजार नै अहिले तातेको छ । पूर्वाञ्चलको ईटहरी अहिले यहि प्रकरणमा मुछिएको छ । पूर्वाञ्चलको ईटहरी शहरबाट प्रर्दशन भईरहेको चलचित्र बाटो मूनिको फूल र कसम हजुरको चलचित्रका नक्कली भिसिडी वजारमा आएपछि यसले देशव्यापी रुपमा चर्चा पाएको हो ।
भिसिडी प्रकरणको पछिल्लो विवरण फिल्मीखवरलाई प्राप्त भएको छ । यसरी आफ्ना चलचित्रका भिसिडीहरु छ्याप्छ्याप्ती वजारमा आएपछि यसका निर्माताहरु पाईरेसी गर्ने व्यक्तिको खोजीमा लागेका थिए । खोजि गर्ने क्रममा पक्राउ परेका दुई व्यक्तिलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरीएको छ । जसमा डिसीएनका कर्मचारी असरफ अलि र गणेश हलका कर्मचारी मिथुन राय रहेका छन् । यिनीहरुलाई अनुसन्धानका लागी हिरासतमा राखीएको पत्रकार सम्मेलन पछि जारी गरीएको प्रेस विज्ञप्तीमा भनिएको छ ।
हाम्रा धरान स्थित सहयोगी अर्पण ढकालसँग मिथुन रायले यो घटनामा आफ्नो मात्र संग्लनता रहेको वताएका छन् । उनले भनेका छन्, 'असरफ अलिले चलचित्र बाटो मूनिको फूलको डिभी आफूलाई केही समय राख्नका लागी दिएका थिए , तर ईटहरीका दुई व्यापारीले मलाई पैसाको प्रलोभनमा देखाएपछि मैले यो चलचित्रको डिभी उनीहरुलाई वेचेको हो ।'
पाइरेसी काण्डमा राययले सम्पूर्ण दोष आफ्नो मात्र भएको प्रहरी समक्ष बयान दिएपछी अश्रफ प्रहरी हिरासतबाट मुक्त भएको बताईएको छ । यि दुइ सहित इटहरीबाट अन्य आठ सीडी ब्यापारीलाई सोधपुछका लागि प्रहरीले बुधबार पक्राउ गरेको थियो । उनीहरुलाई पनि समान्य सोधपुछ गरी केही घण्टा पश्चात प्रहरीले रिहा गरेको छ । उता चलचित्र कसम हजुरकोको भिसिडी किरण चित्र मन्दिर झुम्कावाट वजारमा आएको भनि अनुसन्धान भएतापनि पुष्टि भैसकेको भने छैन ।
अवैध भिसिडी विक्री वितरण रोक्नका लागी निर्माताहरुको टोलीले दिनभर ईटहरीका बिभिन्न सिडि पसलमा प्रहरीको सहयोगमा छापा मारेको थियो । छापामार्दै जादा बिभिन्न सिडि व्यापारीहरुलाई नियन्त्रणमा लिईएको थियो । चलचित्र बाटो मूनिको फूल र कसम हजुरकोको चलचित्रका भिसिडीहरु ईटहरीका आशिष ईम्पेक्सका प्रो. आशिष खनाल, सोनी भिडियोका प्रो. शिव दास, ईटहरी अडियो भिडियोका प्रो. राजु श्रेष्ठबाट वरामद गरीएको छ ।
चलचित्र बाटो मूनिको फूल डिभी नम्वर ७ वाट कपि गरीएको पुष्टि समेत भएको प्रेस विज्ञप्तीमा जानकारी दिईएको छ । चलचित्र बाटो मूनिको फूलका निर्माता राजेश घतानी, गोर्खा पल्टनका निर्माता जितु वंशल, कसम हजुरकोको निर्माता कृषा चौलागाईले जारी गरेको प्रेस विज्ञप्ती मार्फत सवैलाई यो अवैध कार्य रोक्नका लागी आग्रह गरेका छन् ।