सञ्चारकर्मी तथा चलचित्र 'आफ्नै मनलाई सोधी हेर' का निर्माता किरण अधिकारी करिब एक महिना देखि सम्पर्क बिहिन भएपछी सो चलचित्रका निर्देशक रमेश पोखरेल निकै तनावमा छन् ।
चलचित्रको प्रदर्शन समय नजिकिंदै गर्दा चलचित्रको प्रचारप्रसार गर्नु पर्नेमा उल्टै चलचित्रको केहि रकम लिएर अधिकारी बेपत्ता भएको निर्देशक पोखरेलको भनाई छ । चलचित्रमा पचास प्रतिशत लगानी गरेका निर्माता किरण अहिले कहाँ छन् त्यो कुरा न निर्देशकलाई थाहा छ न चलचित्रकर्मीलाई नै ।
निर्माता किरण अब सम्पर्कमा आउने छाँट नदेखेपछी निर्देशक पोखरेलले पूर्णरूपमा आफू नै निर्माता भएको बताए । उनले भने, 'पहिला पचास प्रतिशत किरणले र पचास प्रतिशत मैले खर्च गर्ने कुरा भएको थियो तर पछिल्लो समयमा आएर किरण बेपत्ता भएपछि म एक्लै त्यसको निर्माता भएको छु ।' किरण आउने आशमा केहि समय चलचित्रको प्रदर्शन पोस्टपोण्ड गरेका निर्देशक पोखरेलले उनी आउने छाँट नदेखेपछि फाल्गुन महिनामा देशभर एकसाथ सो चलचित्र प्रदर्शन गर्ने बताए ।
क्रियटिभ सिने म्याक्सको व्यानरमा निर्माण भएको सो चलचित्रमा निखिल उप्रेती, सुरज आरडी, सोभिता सिंखडा, राज तिमल्सिना, आयुब केसी, जिया केसी लगायतले अभिनय गरेका छन् ।