पछिल्लो समयमा निर्माण भएका नेपाली चालचित्र मध्ये राम्रो वजार जमाउन सफल भएको चलचित्र बाटो मुनिको फूल अवैध रुपमा कपि गरि सिडि विक्री गरेको आरोपमा पक्राउ परेकाहरु असरफ अली र मिथुन राय गणेश टाकिज धरानका कर्मचारी हुन भनि निकै चर्चा चलेको थियो । चलचित्रको मास्टरकपी चोरेर कपी गरी विक्री गर्ने व्यक्तिहरु अली र राय भएपनि गणेश टाकिजको कर्मचारी नभएको हल संचालकले दावी गरेका छन् ।
गणेश टाकिज प्रालिका प्रवन्ध निर्देशक भोलामान श्रेष्ठले विहीवार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुवैजना प्रालिका कर्मचारी नभएको तथा उनीहरु दुई मध्येका एक असरफ अली चलचित्रको वितरणको जिम्मा लिएको डिजिटल नेपालका कर्मचारी रहेको र अर्का व्यक्ति मिथुन राय असरफको साथी रहेको स्पष्ट पारेका छन् । प्रवन्धक श्रेष्ठले आफ्नो हलमा डिजिटल फिल्म प्रदर्शन गर्दा वितरकले नै आफ्नो कर्मचारी खटाउने तथा डिभी क्यामेरा र प्रोजेक्टरसमेत उसैले ल्याउने गरेकोले हलवाट सिडी कपी हुने कुनै संभावना नभएको समेत बताएका छन् ।
श्रेष्ठले अवैधरुपमा फिल्म कपी भएको सार्वजनिक भएपछि आफ्नै सहयोगमा दोषीहरुलाई पक्राउ गरिएको जानकारी दिदै उनीहरु आफ्नो कर्मचारी नभएको स्पष्ट पारेका छन् । चलचित्र निर्माताले पक्राउ गरेका व्यक्ति गणेश टाकिज प्रालिका कर्मचारी भनी आफ्नो बद्नाम गराउन खोजेको भन्दै त्यसप्रति आपत्ति समेत जनाएका छन् । उनले आफ्नो प्रालिमा कुनै पनि गैरकानूनी काम नहुने र त्यस्तो काम गर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याएर छाडनुपर्ने माग समेत गरेका छन् । श्रेष्ठले विगत ५ दशक देखि आफूले हलको संचालन गदै आएको र कुनैपनि गलत काम नभएको भन्दै आफ्नो ५ दशक लामो स्वाभिमानलाई आघात पुर्याउने षडयन्त्र भएको दावी समेत गरेका छन् ।
बाटो मुनिको फूल र कसम हजुरको नामक फिल्मका सिडिहरु कपी गरेको आरोपमा प्रहरीले हिजो असरफ अली र मिथुन रायलाई पक्राउ गरेको थियो भने इटहरीको आशीष इम्पेक्स, इटहरी अडियो भिडियो र सोनी भिडियोमा समेत छापा मार्दा प्रहरीले कपी गरीएको सीडि फेला पारेको थियो । कपी गर्ने प्रवृत्तिले चलचित्रमा गरीएको लगानी वालुवामा पानी झै भएको भन्दै चलचित्र निर्माताहरुले आपत्ती समेत जनाएका थिए ।
निर्माताहरुले दोषीउपर प्रतिलिपि ऐन २०६५ अनुसार क्षतिको मुल्याँकन गरि २ लाखदेखि १० लाख रुपियाँ सम्म जरिवाना र कैदको व्यवस्था हुनुपर्ने माग गर्दै बितरक संस्था बिरूद्व मुद्दा दायर गरेका छन् । नेपाली चलचित्रमा मास्टर सिडी चोरी गरी निर्माताको अनुमति विपरीत अवैध रुपमा कपी गरेर वजारमा अबैध व्यापार गर्ने प्रवत्ति पछिल्लो समयमा निकै मौलाएको छ ।