बरिष्ठ अभिनेता नीर शाहले यो समय आफू खामका लागि मात्र अर्थात पैसाका लागि मात्र फिल्म खेल्ने गरेको बताएका छन् । शुक्रबार आफू अभिनीत चलचित्र शासनको अडियो विमोचन समारोहमा बोल्दै अभिनेता शाहले सुरूका दिनहरूमा रहरले कलाकारिता क्षेत्रमा प्रवेश गरेको त्यसपछी आफ्नो अभिनयलाई परिस्कृत गराउने हिसावले अभिनयलाई निरन्तरता दिएको र यो समय पैसाका लागि मात्र काम गर्न थालेको बताएका छन् ।
दह्रो खामको प्रस्ताव विना आफूले फिल्म खेल्न छाडेको भन्दै शाहले थुप्रै सञ्चारकर्मीमाझ निर्माता लोकेन्द्र कार्की तर्फ लक्षित गर्दै भने 'लोकेन्द्रले दह्रो खामको प्रस्ताव आफूलाई गरेपछी फिल्म खेल्ने राजी भएको हु ।' सो चलचित्रमा शाह मुख्य खलनायकको भूमिकामा रहेको बताईएको छ ।
यस्तै फिल्मीखबरसंग खामको बिषयमा छुट्टै कुराकानी गर्दै शाहले अरूको फिल्म राम्रो होस वा नहोस आफूलाई दह्रो खामको प्रस्ताव आए जस्तो सुकै फिल्म खेल्न समेत तयार हुने बताएका छन् । २०२४ सालमा पहिलो चलचित्र परिवर्तनमा ७ सय रूपैया लिएका शाहले यो समय एउटा फिल्म खेलेवापत ठीक एक लाख लिने गरेको बताए ।
२०५८ साल अघि केही फिल्मबाट १ लाख २५ हजार सम्म पनि लिएको शाहको भनाई छ । हाल सम्म करिब अढाई सय चलचित्रमा अभिनय गरिसकेका सफल कलाकार शाहले नाम धेरै कमाई सके अब दाम कमाउनु पर्यो भन्दै यदि मोटो खाम देखाएर कसैले दुई पाईला हिड भन्छ भने आफू हिड्न तयार रहेको समेत बताए ।
मोटो शरिरका धनी कलाकार शाह मोटो खाम प्रति धेरै आकर्षित भएर होला दाबीका साथ भन्दै थिए 'म जति धेरै पैसा लिने अरू चरित्र अभिनेता कोही छैनन् यहाँ ।'