खै फिल्म बनाउँ भनेको नयाँ हिरोइन नै पाईएन....खोजे जस्तो हिरोइन नभएर फिल्म सुरुवात गर्न नै पाईएको छैन....मलाई एक जना नयाँ हिरोइन आवश्यकता पर्यो लौ न कोही छ भने भन्नुहोला.....!
माथिका भनाईहरू चलचित्र वनाउने सुर कसेका अधिकांश निर्माता तथा निर्देशकको मुखवाट निस्कने विरक्तिपना हो । यस्ता भनाईहरु अहिले अनलाईन सामाजिक संजाल वनेको फेसवुकमा पनि छ्यापछ्याप्ती पाईन्छ । फेसवुकलाई नेपाली चलचित्रका निर्माता निर्देशकले हिरोइन खोज्ने राम्रो माध्यम पनि वनाएका छन् । आखिर नयाँ हिरोइनको खोजी यति व्याप्त रुपमा किन भएको हो भन्ने कुरा न त खोज्नेलाई नै थाहा छ न त सुन्नेलाई नै । सवै किन नयाँ अनुहारको पछाडि दौडिएका होलान् त ? एक चलचित्रमा अभिनय गरीसकेकी नायिका अर्को चलचित्रका लागी पुरानो कोटामा परीसकेकी हुन्छिन् ? के साच्चीकै निर्माताहरु नेपाली चलचित्रमा नायिका नै नभएकाले नयाँ-नयाँ अनुहार खोजीरहेका हुन् त ? यि यस्ता प्रश्नहरूको उत्तर अझै अनुत्तरित नै छ ।
आफूले वनाउन लागेको एक नयाँ चलचित्रका लागी निर्माता प्रदिप उदय नयाँ अनुहार खोजीरहेका छन् । नयाँ नायिका नपाएकाले चलचित्र नै सुरु गर्न नपाएको उनको भनाई छ । आखिर उनले नयाँ नायिका किन खोजीरहेका हुन् त ? उनले भने, 'मैले वनाउन लागेको चलचित्र पूर्णतया लभस्टोरी धारको छ ।' यस्ता माया प्रेमका कथावस्तुमा चलचित्र निर्माण गर्दा पुराना कलाकार राखे दर्शकले ति कलाकारमा त्यो पात्रमा आफूलाई पाउन नसक्ने प्रदिपको भनाई छ ।
नयाँ अनुहरामा दर्शकले आफूलाई पाउने भएकाले लभस्टोरी धारका चलचित्रमा नयाँ कलाकार आवश्यक परेको हो । प्रदिपको भनाईलाई आफ्नै ठाँउमा थाति राखेर हेर्ने हो भने अधिकांशको रोजाईमा नयाँ नायिका मात्र परेका छन् । एउटा चलचत्रिमा अभिनय गरीसकेपछि कोही नायिका पुरानो भएर घरमा थन्किएर वस्नु परेको समयमा निर्माताहरु भने नयाँ-नयाँ अनुहारका लागी चिल्लाईरहेका छन् ।
नयाँ नायिका लिएका चलचित्रका केही समय कुरा गरौ । चलचित्र 'नाई नभन्नु ल' मा विकास आचार्यले कथाले मागेको भन्दै ऋचा सिंह ठकुरीलाई नायिकाको रुपमा लिए । तर यो चलचित्रमा नयाँ अनुहार नभएको भए चलचित्रलाई के फरक पथ्र्यो भन्ने कुरालाई न त चलचित्रले पुष्टि गर्न सकेको छ न त निर्देशकले नै पुष्टि गर्न सके ।
चलचित्र सिलसिलामा नायिका सोनीया केसी नव नायिकाको रुपमा भित्रिईन् । तर पनि उनको कारणले चलचित्रमा त्यस्तो केही पृथकता भने देखिएन । नव नायिकाले अभिनय गरेका अधिकांश चलचित्र प्रदर्शनको क्रममा छन् यसकारण पनि उनिहरुको भविष्य र आवश्यकताको वारेमा यसै भनिहाल्ने अवस्था छैन । तर निर्देशक तथा निर्माताहरु चलचित्रमा नयाँ अनुहारका लागी भौतारी रहेका छन् । नेपाली चलचित्रमा नायिकालाई खासै महत्व दिएको पाईदैन । चलचित्रमा को नायिका छिन् भन्दा पनि नायक को छन् भन्ने कुरालाई महत्व दिईन्छ । यसकारण पनि निर्माताहरु नायिका को राख्ने भन्नेमा खासै भेउ राख्दैनन् ।
सायद यही कारणले पनि हुनसक्छ नव नायिकाको खोजी भएको । चलचित्र च्यालेन्ज निर्माण गर्नु अघि निर्देशक श्याम भट्टराईले नायिकाको खुवै खोजी गरे । नयाँ नायिका नपाई चलचित्र नै निर्माण नगर्ने उनको उद्घोष थियो । सय भन्दा वढि युवतीको अडिसन पनि लिए उनले । अन्त्यमा उनको चलचित्रमा नयाँ अनुहार खुश्वु न्यौपाने भित्रिईन् । आखिर किन उनलाई पनि नयाँ नायिका नभई भएन त ? श्यामले खुलेर भने, 'नेपालमा कुनै पनि नायिका हरेक कुरामा फिट छैनन् । सवैजना सम्वन्ध र निकटताको आधारमा चलचित्र खेलीरहेका छन् । कसैले पनि यो क्षेत्रलाई गम्भिरताका साथ लिएका छैनन् ।'
'यसरी नायिकामा आवश्यक पर्ने सवै खुवी नपाउदा नयाँलाई खोज्नु परेको हो', श्यामले थपे । श्यामले त यो क्षेत्रमा आउने अधिकांश नायिकामा धेरै कमजोरी देखेका रहेछन् । यो प्रसङ्गलाई उक्काउदै गर्दा एउटा प्रश्न पनि जन्मन्छ । किन चलचित्र वनाउनेहरु नयाँ नायकमा रिक्स मोल्न चाहदैनन् ? नयाँ नायकको अभिनय भएको चलचित्रमा एक न एक चलेका नायकको टाउको विकाईएको पाईन्छ । तर चलचित्र वनाउनेहरु नायिकामा भने किन रिक्स लिन खासै डराउदैनन् त ?
चलचित्र पलपलमा पछि किन किन निर्देशन गर्न लागेका उकेश दाहाल पनि नयाँ अनुहार खोजीरहेका छन् । उनी भन्छन्, 'मेरो कथामा नव नायिका नभै हुदैन । पुराना नायिका राख्दा दर्शकले उनिहरुलाई अन्य चलचित्रमा देखिसकेका हुन्छन् जसले गर्दा नयाँ अनुहार खोजीरहेको छु ।' यसरी सवै जना एक चलचित्रमा देखिएकी नायिका पुरानो भई भनेर नयाँ खोजीरहेका छन् ।
कारण स्पष्ट छ । यहाँ नायकवाद हावी छ । नायिकाको टाउको विक्दैन भन्ने सोच छ । जसका कारण नायक चलेको राखे नायिका जो राखीदिए पनि हुन्छ भन्ने सोच वोकेका चलचित्र निर्माता तथा निर्देशक छन् । यसकारण पनि नायिकाहरु नयाँ नयाँ प्रयोग भईरहेका छन् । अर्कोतिर नव नायिकामा शारीरीक शोषणका कुरा वारम्वार बाहिर आएको पाईन्छ र यो कुरा असत्य पनि होईन भन्ने कुरा धेरै पटक चलचित्र क्षेत्रमा देखिएका यस्ता घटनाले पुष्टि गरीसकेको छ ।
निर्माता निर्देशकले नयाँ नयाँ नायिकाको खोजी गर्नुको पछाडि कत्तै यो कारण पनि होईन भनेर शंका गर्न सकिन्छ । खैर जेहोस् नयाँ अनुहारको ह्रिवम पिट्ने अधिकांश चलचित्रका निर्माणकर्ताहरुले ति नायिकालाई सुहाउदो कथा वनाउन सकेका छैनन् । ति नायीकालाई उहि पुरानो कथामा अभिनय गराउने हो भने नयाँ नायिका मात्र खोजेर के गर्नु ? अर्कोतिर यि अधिकांश नयाँ अनुहारहरु आफूभन्दा पाका उमेरका कलाकारसग सुहाओस् नसुहाओस् अभिनय गर्न विवश छन् । आफ्ना दाजु वा वावु समान नायकको प्रेमिका वनेर अभिनय गर्न वाध्य छन् नव नायिकाहरु । सधैजसो यसरी नै र यस्तै चलचित्र वनाउने हो भने नयाँ नायिका चाहियो भनेर किन कराउनु ? यसैले नयाँ नायिकाको खोजी गरेर चलचित्रको सस्तो पब्लिसीटी गर्नु भन्दा उनीहरुको खोजीको औचित्य पुष्टि गर्न तर्फ लाग्नु जरुरी छ ।
खोजी नव नायीकाको मात्र होईन कथाको पनि गरौ । अनि मात्र नयाँ नायीका खोजीको अर्थ हुन्छ । पुरानो रक्सिलाई नयाँ वोतलमा हालेर पिलाउनुको अर्थ के? वोतल पुरानो भएतापनि रक्सि नयाँ वनाउनु आजको आवश्यकता हो । किनकी खाने रक्सि हो वोतल होईन ।