
बिजय केरूङ निर्देशित चौथो चलचित्र तिमीले दिएको मायाको छायाकंन धमाधम भै रहेको छ ।
गएको मंसिर तेइस गते देखि सुन्दरीजलका विभिन्न स्थानबाट छायाकंन सुरू गरिएको सो चलचित्रको एक गीतको छायाकंन आईतबार चोभार डाँडामा विहानै देखि गरिएको छ । श्री सूर्योदय मुभिजको ब्यानरमा सुनिता शर्मा र रेशु ढुङ्गानाले निर्माण गरेको उक्त चलचित्रमा राज तिम्लिसिना, सुवास मेचे, नीता ढुङ्गाना र नव प्रस्तुतीको रूपमा दिक्षा भण्डारीले डेब्यू गरेकी छिन् ।
सौताको छोराछोरीबीचमा देखिने नेपालको पूरानो विभेदको कथा समेटिएको उक्त चलचित्रको छायाकंन ७० प्रतिशत सकिएको निर्देशक केरूङले जानकारी दिएका छन् । केरूङका अनुसार सात सिन हित क्लाईमेक्सका केही दृश्य र चार गीतको छायाकंन हप्तादिन भित्र सकिने छ । चलचित्रमा शम्भु सापकोटाको छायाकंन, राम जनकको द्धन्द, महेश खड्काको संगीतमा गोविन्द राई र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।