केही महिना अगाडी प्रदर्शन भएको र पुन: केही स्थानमा प्रदर्शन गर्न लागिएको कृषा चौलागाईंको चलचित्र 'कसम हजुरको' र राजेश घतानीले निर्माण गरेको चलचित्र बाटो मुनिको फुल रिलिज भएको एकसाता भित्रमै पाईरेट गरेर बजारमा छ्यापछ्याप्ती चलचित्रको भिसिडी सार्वजनिक भएपछी पाईरेट गर्नेलाई उचित क्षतिपूर्तीको माग सहित कारवाहीको लागी सोमबार सात सदस्य छानबिन समिती गठन गरिएको छ ।
राजधानीमा निर्माता संघ र चलचित्रको वितरक संस्था डिसिएनबिच बैठक बसी घटनाको छानबिन गर्न निर्माता संघका निवर्तमान अध्यक्ष तथा डिसिएनक प्रबन्ध निर्देशक अशोक शर्माको संयोजकत्वमा सो समिती गठन गरिएको संघका सचिव सुरेशदर्पण पोखरेलले फिल्मीखबरलाई जानकारी दिए । सो छानबिन समितीमा संघका महासचिव चिरञ्जिवी बस्नेत, संघका सचिव सुरेश दर्पण पोखरेल, संघका सदस्य प्रज्ञा जोशी, पिडीत निर्माताद्वय राजेश घतानी र कृषा चौलागाईं र भिसिडी व्यवसायिका तर्फबाट ओम अग्रवाल सदस्यको रूपमा छन् ।
बैठकमा दोषीको रूपमा हेरिंदै आएको डिसिएनले आफूहरूले गल्ति नगरेको र जस्ले गल्ती गरेको हो उसले उचित क्षतिपूर्ती दिनु पर्ने र दिन नमानेमा कारवाहीको प्रक्रिया अगाडी बढाउने बताएको छ । त्यसैगरी निर्माता संघले पनि दोषीमाथी कारवाही गरि पिडीतलाई उचित क्षतिपूर्ति दिलाउन लागी पर्ने बताएको छ । सोमबार बसेको बैठकले पाईरेसिको टुंगो छिटो भन्दा छिटो लाग्ने बिश्वास लिएको संघका सचिव पोखरेलले जानकारी दिए । चलचित्र बाटो मुनिको फुल धरानको गणेश टाकिजबाट पाईरेट भएको थियो भने चलचित्र कसम हजुरको सुनसरीको झुम्कामा रहेको किरण चित्र मन्दीर र चक्रघट्टीको बराहा टाकिजबाट पाईरेट भई बजारमा पुगेको थियो ।
यसैगरी बैठकमा दोस्रो निर्माता संघ खोल्छु भनेर लागी परेका अशन्तुष्ट पक्षसंग बसेर निर्माता संघले बार्ता गर्ने भएको छ । जसका लागी मंगलबार साढे एघार बजे संघमा अशन्तुष्ट पक्षलाई संघले बैठक बस्न डाकेको छ । संघले बैठकमा निर्माता संघ फुट्न हुँदैन भन्ने प्रस्ताव राख्ने बताईएको छ ।