थुप्रै चलचित्रमा प्रोडक्सन म्यानेजर भएर काम गरेका राजु क्षेत्री मृत अवस्थामा फेला परेका छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार गए राति दर्पण फिल्समको कार्यालयबाट निस्किएका छेत्रीको शव काठमाण्डौको दरबारमार्ग स्थित इन्भेष्टमेन्ट बैंकको पर्खाल छेउमा मृत अबस्थामा बुधबार बिहान फेला पारिएको हो ।
नेपालीबाबुबाट गणेश सापकोटाको असिष्टेन्ट भएर काम सुरू गरेका अन्दाजी ३० बर्षे क्षेत्रीले बाजी, मन परेपछी, औजार, नसिव आफ्नो, मैदान, खोज , फूलको थुगां, सिन्दूर पोते लगायतका दर्जन बढी चलचित्रमा प्रोडक्सन म्यानेजर भएर काम गरिसकेका छन् । हेटौडा चाइनाक्वाटर स्थायी बासिन्दा छेत्रीको शवको पोष्टमार्टमका लागि प्रहरीले महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पुर्याएको छ ।
प्राविधिक संघका सदस्य समेत रहेका क्षेत्रीको निधन प्रति शोक जनाउदै चलचित्र प्राविधिक संघले आज बुधबार कुनै पनि फिल्मको सुटिङ नगर्ने निर्णय गरेको छ । जस अनुरूप आज कुनै पनि फिल्ममा शुटिङ नहुने भएका छन् ।
यस्तै क्षेत्रीको मृत्यु भएको भएको खबर सार्वजनिक भए लगत्तै नायिका रेखा थापा, अभिनेत्री सृजना बस्नेत, निर्देशक नरेश पौडेल, प्रदिप श्रेष्ठ, सुमन दाहाल, द्धन्द कलाकारसंघका अध्यक्ष योगेन्द्र श्रेष्ठ , प्राविधिक संघका अध्यक्ष सन्तु तामाङ, क्यामेरा म्यान सञ्जय लामा लगायत प्रोडक्सनसँग सम्बन्धीत थुप्रै चलचित्रकर्मीहरू शिक्षण अस्पताल पुगेका छन् ।
यस्तै अस्पताल स्रोतका अनुसार पोष्र्टमार्टममा रहेका मृतक क्षेत्रीको अत्याधिक मदिर सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको बताईएको छ । मृतकको आत्माले शान्ति पाओस फिल्मीखबर परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।