प्रदिप श्रेष्ठ निर्देशित आठौ चलचित्र सडकको स्वराङ्कन कार्य अर्थात डबिङ अन्तिम चरणमा पुगेको छ ।
विन्देश्वरी सिने आर्टको ब्यानरमा हरि बरालको प्रस्तुती तथा पवन प्रजापति निर्माता रहेको उक्त चलचित्रको डबिङ नौ दिन अघि सुरू गरिएको थियो । आज मंगलबार नायिका रेखा थापा र आयुष रिजालले सो चलचित्रमा डबिङ गरे ।
चेतन सापकोटाको संगीत र कविराज गहतराजको नृत्यनिर्देशन, हिमाल केसीको द्वन्द समावेश रोमान्टिक उक्त चलचित्र चाडै नै प्रदर्शन गर्ने योजना रहेको निर्देशक श्रेष्ठको भनाई छ । चलचित्रमा रेखा अत्याधिक चुलबुले पात्रको रूपमा र आयुष साधारण गम्भीर प्रकृतिको भूमिकामा रहेको बताईएको छ ।
सडक बालबालिकाको मनोदशा देखाउन खोजिएको सो चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रको छायांकन फाल्गुन महिनाको दोस्रो सातादेखि पोखराबाट शुरू गरिएको थियो ।