कुनै पनि फिल्मको प्रिमियर भन्दा अघिको ठूलो जमघट सो चलचित्रको अडियो विमोचन हुने गर्दछ । अनि त्यो अडियो विमोचनमा भ्याएसम्म सो चलचित्रका कलाकार देखि सम्पूर्ण यूनिटका सदस्यलाई पनि उपस्थिति गराइने चलन छ । तर शुक्रबार 'जिन्दगानी दर्पणछायाँ' चलचित्रको अडियो विमोचन समारोहमा सो चलचित्रका निर्देशक र एक जना निर्माता बाहेक फिल्मका मुख्य कलाकार विना अडियो विमोचन गरिएको छ ।
काठमाण्डौ नयाँ बसपार्कमा शुक्रबारबाट सञ्चालनमा आएको पशुपति रोधी क्लबको उद्घाटनको साथै सो फिल्मको अडियोलाई निर्देशक एवं सञ्चारकर्मी दिनेश डीसी तथा चलचित्र पत्रकारसंघका अध्यक्ष शान्ति प्रिय लगायत केहि व्यक्तिले विमोचन गरेका थिए । विमोचन समारोहमा सो चलचित्रका निर्देशक मनिष पन्थ तथा निर्माता त्रय मध्येका एक गिरी प्रसाद पुन:( लाहुरे दाई) बाहेक अरु कोही सदस्यको उपस्थिति थिएन ।
श्रीनगर फिल्मस प्रालिको ब्यानरमा सरिता पुरीको प्रस्तुती रहेको सो फिल्ममा रोहित पुरी एवं स्पन्दन पन्थले समेत लगानी गरेका छन् । यि निर्माता सहित सो चलचित्रका संगीतकार वीरेन्द्र अग्रहरी, नायक दिलीप रायमाझी, नायिका नन्दिता केसी समेत अनुपस्थिति थिए । फिल्मका हिरो हिरोइन विनै अडियो विमोचन किन गरेको भन्ने फिल्मीखबरको प्रश्नमा निर्देशक पन्थले दिलीपको फुर्सद नभएकाले र नन्दिता विरामी भएकाले उपस्थिती नभएको प्रतिक्रिया दिए ।
तत्कालिन राजदरबार हालको नारायणहिटी संग्राहलयमा पहिलो पटक छायाकंन गरिएको सो चलचित्रको यूनिटमा अधिकाशं नयाँ व्यक्तिको संग्लनता रहेको छ । पारिवारिक प्रेम कथामा आधार भएर बनाईएको सो चलचित्र आगामी बैशाख सम्ममा रिलिज गरिने निर्देशक पन्थले जानकारी दिए । पन्थ सो चलचित्रका निर्देशक सहित लेखक र छायाँकार समेत हुन् । यस्तै विमोचन गरिएको अडियो गीतलाई पशुपति म्यूजिकले बजार बिक्री वितरणको जिम्मा लिएको छ ।