डीजीटल सिनेमा नेपालका शेयर होल्डर एवं महाप्रवन्धक अशोक शर्माले सोही संस्थाका अन्य केहि सदस्यसँग मिलेर निर्माण गरेको नयाँ सिनेमा भवनलाई महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले उद्दघाटन गर्ने भएका छन् ।
आगामी पौष ३० गते शुक्रबारका दिन पूर्वाञ्चलको उर्लाबारी बजारमा रहेको ७ सय सिट क्षमताको भिलेज सिनेमा हललाई राजेश र करिश्माले उद्घाटन गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिएका दिए । 'मेरो पूराना अति मिल्ने साथी राजेश र करिश्मा भएकाले उनीहरूकै हातबाट हल उद्घाटन गर्न लागिएको हो ' शर्माले फिल्मीखबरलाई भनेका छन् ।
नकिम उदिन, भाष्कर ढुङ्गाना, राजेश सिद्धी, बलराम पराजुली, चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल सहित अशोकको बराबर पच्चिस-पच्चिस प्रतिशत शेयर रहेको सो सिनेमा भवन निर्माणमा डेढ करोडमा खर्च गरिएको बताइएको छ ।
'सकेसम्म पूर्वाञ्चलकै उत्कृष्ट सिनेमा भवन बनाउने सोच अनुरूप हामीले हल खोलेका हौ' अशोक भन्छन् । शुक्रबार बिहान साढे ११ बजे उद्घाटन हुने सो हलमा डीसीएनको सर्भरबाट सोभित बस्नेतको फिल्म चिनो देखाईनेछ । हल उद्दघाटन पश्चात सो चलचित्रलाई राजेश र करिश्माले पनि हेर्ने कार्यक्रम रहेको छ ।