झण्डै ६ दर्जन म्यूजिक भिडियो निर्देशन गरिसकेकी निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठले चलचित्रकर्मीहरूसँग सहयोग मागेकी छिन् । आफूले निर्देशन गरेका विभिन्न चारवटा छोटा चलचित्रलाई आईतबार एक समारोहका विच विभिन्न चलचित्रकर्मी समक्ष देखाउदै संगीताले फिल्म निर्देशन गर्ने आफ्नो इच्छालाई सहयोग गर्न सवै समक्ष आग्रह गरेकी हुन् ।
२० मिनेटका दरले उत्कृष्ट मेकिङमा बनाइएका आफ्ना फिल्म देखाएपछी संगीतले भनिन् 'अप कमिङ निर्देशकको रूपमा चलचित्रकर्मी बन्ने इच्छा छ, कृपया सहयोग गरिदिनु होला ।' संगीताले निर्देशन गरेका ती छोटा फिल्मलाई निर्माता संघका अध्यक्ष राजकुमार राई, पूर्व अध्यक्ष युवराज लामा, अभिनेता भुवन केसी, प्रज्ञा जोशी, बाटो मुनि फूलका निर्माता राजेश घतानी तथा सो चलचित्रका नायकद्धय बाबु बोगटी, यस कुमार, नायक निरज बराल, नायिका शशि खड्का , निर्देशक त्रय श्याम भट्टराई , ऋषि लामिछाने, सुरेश दर्पण पोखरेल, सानो पर्दाका निर्देशक दिपक राज गिरी तथा दीपाश्री निरौला लगायतले हेरेका थिए ।
महिला क्यारेक्टरबाट आधार भएर बनाईएका ति सवै फिल्म हेरिसकेपछी अधिकाशंकले संगीताको निर्देशन खुबीको प्रशंशा गरेका थिए । कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले टेक्निकल हिसाबले भन्दा पनि शिक्षित निर्देशकको चलचित्र उद्योगमा जरूरी भएको भन्दै संगीताको कामको प्रशंशा गर्नुको साथै यस्ता नयाँ अनुहारलाई आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने बताएका थिए । यस्तै युवराज लामाले प्राविधिक हिसाबमा केही कुराको कमि भए पनि निर्देशक बन्ने गुण संगीतामा आफूले देखेको बताए ।
संगीताले निर्माण गरेको छोटा चलचित्रहरू कान्तिपुर टेलिभिजनबाट प्रत्येक साताको मंगलबार साढे सात बजे प्रसारण हुने गर्दछ । उनका अनुसार आफ्ना कुनै पनि फिल्ममा पात्र र लोकेशन र पहिरन दोहोरिने छैनन् । जस अनुरूप आईतबार उनले देखाएका चार चलचित्रहरू निकै तारिफ योग्य पनि थियो ।
यदि कोही निर्माताले तपाईलाई ठूलो फिल्म निर्देशन गर्न आग्रह गरे तपाईले आँट गर्ने कि नगर्ने भन्ने प्रश्नमा उनले भनिन् 'चलचित्र के हो पहिला पूर्ण रूपमा बुझ्छु अनि मात्र ३ घण्टाको फिल्म बनाउने आँट गर्छु ।'