गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'सासु ससुराको प्यार' दर्शकले नरूचाईदिएपछी तीन दिनमै हलबाट उत्रिन बाध्य भएको छ । होल्डओभर कायम गर्न नसके पनि नियम अनुसार एक हप्तासम्म फिल्मलाई उतार्ने चलन छैन तर अपेक्षा भन्दा कयौ गुणाले कम दर्शक सिनेमा हलसम्म नगएपछी प्रदर्शकहरूले फिल्म उतार्न बाध्य भएका हुन् ।
विश्वज्योती प्यानलबाट रिलिजमा आएको सो चलचित्र विश्वज्योती हल बाहेक अन्य हलबाट उत्रिएको छ । यसको बदलामा गंगा चलचित्र मन्दिर बालाजुमा पालेदाई, पृथ्वी हलमा निशाना तथा पुष्पाञ्जलीमा कन्यादान लगाईएको छ । यस्तै उपत्यका बाहिर समेत प्रदर्शनमा आएको सो चलचित्रको ब्यापार समेत नराम्रो रहेको रिपोर्ट प्राप्त भएको छ ।
दुर्गा देवी सिने आर्टस्को ब्यानरमा सोही चलचित्रका नायक कल्याण घिमिरेले निर्माण गरेको सो चलचित्रलाई केदार पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा गरिमा पन्त, उषा पौडेल लगायतले अभिनय गरेका छन् ।