चलचित्रका सवै सिन सकिए पनि तीनवटा गीतको छायाकंन बाँकि रहेको शंकर घिमिरे निर्देशित तेस्रो चलचित्र 'तुलसी' को छायाकंन मंगलबारबाट सुरू हुदै छ ।
लोकेशनका लागि सरकारी निकाय नेपाल टूरिजम बोर्ड र सञ्चार मन्त्रालयले विभिन्न तालहरू रारा, च्छो रोल्पा र तिलिचो लगायत क्षेत्रमा सुटिङका लागि सहयोग नगरेपछी सो यूनिट अर्कै गन्तब्यतर्फ छायाकंन गर्न बाध्य भएको हो । जस अनुरूप सो यूनिट सोमबार साँझ काठमाण्डौबाट पोखरा गएको छ ।
पोखराको धम्पुसमा करिब चार दिन, त्यसपछी चितवन पुग्ने सो यूनिटले चितवन महोत्सवको अवसरमा सो फिल्मको उत्कृष्ट एक गीतको छायाकंन गर्दैछ । जहाँ नेपाली चलचित्र उद्योगका हस्ती अभिनेताहरू भुवन केसी, राजेश हमाल, शिव श्रेष्ठ तथा अभिनेत्रीहरू करिश्मा मानन्धर, मौसमी मल्ल, तृप्ती नाडकर लगायतका थुप्रै अनुहारहरूले एक साथ एउटै गीतमा कम्मर मर्काउने छन् । 'एउटै गीतका लागि लाखौ खर्च हुने भयो' निर्देशक घिमिरे बताउछन् ।
वर्ल्डवाईड मुभि मेकर्सको ब्यानरमा ऋचा प्रोडक्सनको प्रस्तुती रहेको सो चलचित्रमा ऋचा घिमिरे मुख्य भूमिकामा छिन् । यस्तै चलचित्रमा मोडल बिमलेश अधिकारीले हिरोको रूपमा इन्ट्रोडोक्सन गर्दैछन् भने नायक आयुष रिजाललाई समेत मुख्य भूमिकमा देख्न सकिनेछ । छायाकंन गरिने सवै गीतमा रञ्जित गजमेरले संगीत भरेका छन् भने ती गीतहरूमा गोबिन्द राई र राजु शाहले नृत्य निर्देशन गर्दैछन् ।