
४६ बर्षे नेपाली चलचित्रको इतिहासमा पहिलो पटक महिला प्रोडक्सन डिजाईनर अर्थात निर्माण ब्यवस्थापकको रुपमा अभिनेत्री सुषमा कार्कीले आफ्नो परिचय बनाउर्दैछिन् ।
यस अघि करिब २४ वटा चलचित्रमा चरित्र अभिनेत्री भएर काम गरिसकेकी कार्कीले दीपक रायमाझी निर्देशित चलचित्र डेस्टिनेशन काठमाण्डूबाट नेपालको पहिलो महिला प्रोडक्सन डिजाईनरको ट्याग भिर्दैछिन् । जुन चलचित्रको मुहूर्त आज शुक्रबार हुँदैछ । डिजाईनरको काम चलचित्र निर्माणको समयमा बजेट देखि लिएर आवश्यक लोकेशन क्राउडको हेरचाह तथा कलाकारको उपस्थिति अनुपस्थिति हेर्ने काम हो । यसर्थमा भन्नुपर्दा चलचित्र निर्माणको समयमा निर्माता र निर्देशकको दाईने हातको रुपमा प्रोडक्सन कन्ट्रोलरलाई लिने गरिन्छ ।
नेपाली चलचित्र इतिहास अनुसार २०२३ सालमा निजी क्षेत्रबाट बनेको चलचित्र माइतीघरमा गेहेन्द्र धिमाल सर्वप्रथम प्रोडक्सन कन्ट्रोलर थिए भने त्यसपछि चेतन कार्की र नारयणध्वज प्रधानले पनि प्रोडक्सन कन्ट्रोलरको रुपमा हेर्ने गर्थे । तर नियमित रुपमा एक दश यता थुप्रै पुरुषहरुले मात्र प्रोडक्सन कन्ट्रोलर भएर काम गरिरहेको बेला सुषमाले महिलाहरू पनि हरेक काममा अग्रसर हुनसक्छन् भन्ने उदाहरण दिन खोजेकी छिन् ।
पहिलो पटक नेपालको पहिलो महिला कन्ट्रोलर परिचय बनाउदै गरेकी कार्की पूर्वाञ्चलमै पहिलो पटक 'रिव डीजिटल स्टूडियो','अमरावती गर्ल्स होस्टेल' साथै देशकै पहिलो सहकारी स्कूल 'विराट को-अपरेटिभ स्कूल' सञ्चालनमा ल्याउने महिला हुन् । हाल नयाँ बानेश्वरमा बस्दै आएकी ३६ बर्षे कार्की कलाकारको अलवा गायिका पनि हुन् । यिनले ६ वटा एल्बम निकालिसकेकी छिन् । प्रेमपथ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी कार्की यो समयमा हरेक निर्माता निर्देशकको रोजाईमा पर्ने कलाकारको रुपमा पनि चिनिन्छिन् । चलचित्रको इतिहासमा पहिलो महिला प्रोडक्सन डिजाईनरको परिचय बनाउन लागेकी कार्कीलाई फिल्मीखबरको तर्फबाट बधाई ।