चितवन महोत्सव पारेर शंकर घिमिरेले निर्देशन गरिरहेको मेघा प्रोजेक्टको चलचित्र 'तुलसी' को छायाकंनमा पुगेका अभिनेत्री द्धय मौसमी मल्ल र तृप्ती नाडकर मेला भर्न आएका दर्शकमाझ घेरिएका छन् ।
गोविन्द राईको नृत्य निर्देशनमा छायाकंन भैरहेको सो चलचित्रको मेलाको गीतमा नाचिरहेका मल्ल, नाडकर र सोही चलचित्रकी मुख्य अभिनेत्री ऋचा घिमिरेलाई हेर्न दर्शकको निकै भिड देखिन्थ्यो । ठूलो क्राउडमा छायाकंन गर्ने उद्देश्यले चितवन महोत्सवमा सुटिङ्ग गर्न पुगेका निर्देशक घिमिरे अपेक्षा गरे भन्दा धेरै क्राउड पाएपछी आत्तिएका पनि थिए । चर्चित कलाकारको उपस्थिति देखेपछी मेला भर्न आएका दर्शकले सुटिङलाई प्रभावित गर्ने गरी कलाकारहरूसँग अटो ग्राफ लिन तछाडमछाड गरेका थिए ।
नारायणगढको नारायणी नदी तीरमा छायाँकन भईरहेको सो गीतमा अभिनय गर्न सदावहार अभिनेता भुवन केसी आईतबार अपरान्ह चितवन आईपुगेका छन् । भने नायिका मल्ल र नाडकर शनिबार नै चितवन आएका थिए । त्यस्तै महानायक राजेश हमाल र शिव श्रेष्ठ तथा करिश्मा मानन्धर भोली चितवन आईपुग्दैछन् । सोमबार हमालले निकै समय अगाडी आफूद्धारा अभिनित चलचित्र देउताको 'हुँदैन रेलिमाई चट्ट बिर्सन' बोलको गीतको मेलोडीमा नाच्दैछन् ।
त्यसैगरी भुवन केसी सपनाको 'सपना सपना मेरो नाम हो सपना', शिब श्रेष्ठ चिनोको 'मोहनी लाग्ला है', करिष्मा मानन्धर मायालुको 'किन बढ्दै छ ढुकढुकी मुटुको', मौसमी मल्लले सम्पत्तीको 'एउटा केटा एउटा केटी मायाको जालमा...', तृप्ती नाडकर सम्झनाको 'उकालीमा पछि पछि ओरालीमा अघि अघि...' बोलको गीतको मेलोडीमा नाच्दैछन् । ती सबै मेलोडी बरिष्ठ संगीतकार रञ्जित गजमेरका हुन् । तुलसीमा पनि उनकै संगीत समावेश गरिएको छ ।
सोमबार पनि सोही स्थानमा हुने उक्त सुटिङमा स्टार कलाकारहरू केसी, हमाल, श्रेष्ठ र करिश्मा र उपस्थित हुने हुँदा क्राउडको संख्या तीन गुणाले बढ्ने पक्का छ । आईतबारको जस्तो समस्या भै दिए भोलीको छायकंनमा क्राउडलाई नियन्त्रण गर्न सुरक्षाकर्मी समेत खर्टाईने यूनिटको भनाई छ ।