बीस बर्षअघि तुलसी घिमिरेले निर्देशन गरेको सुपरहिट चलचित्र चिनोको नाममा अर्को चिनो बनाएका निर्माता तथा निर्देशक शोभित बस्नेतले रिलिजको तीन दिनमै अपार सफलता पाएपछी आज मंगलबार साँझ ६ बजे कुमारी हलमा चलचित्रको प्रेस शो गरेका छन् ।
फिल्म रिलिज पूर्व प्रिमियर नगरेका सोभितले आयोजना गरेको सो प्रेस शोमा अधिकाशं सञ्चारकर्मीको उल्लेख्य सहभागीता रहेपनि चलचित्रकर्मीहरूको खासै उपस्थिती नहुँदा कार्यक्रम केहि खल्लो भएको थियो । चलचित्र हेरिसकेपछि अधिकांशले नायिका रेजिना उप्रेतीको अभिनय र एक्सनको प्रशंसा गरेका थिए ।
पछिल्लो समय अधिकाशं फिल्मले राम्रो ब्यापार गर्न नसकिरहेको अवस्थामा एक्सन प्रधान सो चलचित्रमा रेजिना उप्रेतीको उत्कृष्ट स्टण्डका दृश्यहरू तथा द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई पहिलो पटक तेस्रो लिङ्गीको भूमिकामा देख्न पाईनेछ । सोही अनुरूप फरक स्वाद पाएका दर्शकले सो फिल्मलाई रूचाईदिएका हुन र धेरै पैसा कलेक्सन गर्न चिनो सफल भएको हो ।
डीसीएन प्यानलबाट रिलिज गरिएको सो चलचित्रले आईतबारसम्म अर्थात तीन दिनमै ३५ लाख भन्दा बढी ग्रस कलेक्सन गरेको थियो । यसरी तीन दिनमै यत्तिको ठूलो कलेक्सन गरेको प्रति वितरक डीसीएन समेत अचम्ममा परेको छ ।