चलचित्र निर्देशक समाजको आयोजनामा भोली शुक्रबारबाट चितवनमा सुरु हुन लागेको 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०११' मा सहभागी हुन चर्तित भारतीय निर्देशक गोबिन्द निहालानी काठमाण्डू आईपुगेका छन् ।
मुम्बईबाट जेट एयरको फ्लाईटबाट आएका निहालानी बिहिबार मध्यान्न साढे ११ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक, निर्देशकहरु मनोज पण्डित तथा प्रमोद भण्डारीले स्वागत गरेका थिए । स्वगात पश्चात निहालानीलाई ठमेल स्थित होटल बैशालीमा सम्मान पूर्वक पुर्याईएको छ ।
यस्तै हिजो मध्यान्न काठमाण्डौ आईपुगेका अर्का भारतीय निर्देशक के. एन. टी. शास्त्री र बेलुकी आएका कोरियाली निर्देशक किम डोङ बीन पनि सोही होटलमा बसेका छन् । निर्देशक समाजले उक्त होटलमा उनीहरुका लागि दैनिक प्रति ब्यक्ति १० हजारका दरले खर्च गरेको जनाएको छ । यि तिनै विदेशी निर्देशकले नेपाली निर्देशकहरुलाई एक सातासम्म चलचित्र निर्देशन सम्बन्धी आफ्नो अनुभव बताउने छन् । जस अनुरुप अधिकाशं नेपाली निर्देशकहरु भोली चितवन प्रस्थान गर्दैछन् ।
सो कार्यशालालाई बरिष्ठ चलचित्रकर्मी यादव खरेल, नीर शाह र चलचित्र बिकास बोर्डका अध्यक्ष अमरराज गिरीले उद्धघाटन गर्ने कार्यक्रम छ । उद्धघाटन भोली शुक्रबार चितवनको मेघौली स्थित गोलाघाट रिसोर्टमा अपरान्ह ३ बजे गरिनेछ ।