थुप्रै चर्चित बृत्तचित्र निर्माण गरिसकेका भारतीय निर्देशक तथा चलचित्रका लेखक साथै समिक्षक के.एन.टी शास्त्रीले नेपालको जीवित देवि कुमारीको जीवनमा आधारित भएर फिचर फिल्म बनाउने आफ्नो योजना रहेको बताएका छन् ।
चलचित्र निर्देशक समाजको निमन्त्रणमा चितवनमा आयोजना हुने अर्न्तराष्ट्रिय चलचित्र कार्यशालामा सहभागी हुन नेपाल आएका शास्त्रीले लामो समय अघि देखिको आफ्नो सो योजनामा कसैले ५० प्रतिशत लगानीमा सहयोग गरिदिए तुरून्त फिल्म बनाउने समेत बताए । उनको त्यो प्रोजेक्टको लगानी भारतीय रूपैया एक करोडको हुने छ ।
नेपालको कुमारीको बारेमा अध्ययन गर्न उनी यस अघि दुई पटक नेपाल आएका थिए । जस अनुरूप फिल्मका लागि उनले स्क्रिपट सहित फिल्मको टाईटल समेत तयार पारेका छन् । सो फिल्मको नाम 'दिल कुमारी' राखिने उनको भनाई छ । फिल्मी खबरसँगको विशेष कुराकानीमा उनले भनेका छन्, 'फिल्ममा बच्ची कुमारीको भूमिकामा नेपाली बालकलाकार र बयस्कमा भारतीय अभिनेत्री अमृता राव हुनेछिन् ।'
कुमारीको रूपमा बालिकालाई देवीको रूपमा मान्ने चलन भारतमा पनि भएकाले त्यहाँको मान्यता भन्दा यहाँको फरक पाएकाले आफ्नो प्रोजेक्टको लागि नेपालको कुमारी उपयूक्त देखेको उनको भनाई थियो । उनले यस्तै प्रकारका बिषयबस्तुमा आधारित भएर तिलदानम, हृविला, कमली लगायतका थुप्रै चर्चित बृत्तचित्रहरू निर्माण गरिसकेका छन् । जसले भारतमा राष्ट्रिय अर्वाड समेत जित्न सफल भएका थिए ।
आशा गरौ नेपालको कुमारीको बारेमा फिल्म बनाउने तयारी गरेका शास्त्रीले यसबाट पनि ठूलो सफलता हात पारून् । जय कुमारी !