बीबीसी नेपाली सेवाका प्रमुख पत्रकार रबिन्द्र मिश्र चलचित्रका अभिनेता हुने भएका छन् । दीपक रौनियारले निर्देशन गर्ने चलचित्र 'हाईवे'मा उनी डाक्टरको भूमिकामा देखिंदैछन् ।
शुक्रबार साँझ गरिएको सो चलचित्रको मुहूर्त समारोहमा उनी पनि उपस्थित थिए । 'सानै देखि अभिनय गर्न रहर लाग्थ्यो तर विविध कारणबस सोचे जस्तो कहिले भएन र आज आएर त्यो रहर पूरा हुने भएको छ ।' मुहूर्त समारोहमा उनी भन्दै थिए । यस्तै अभिनय बाल्य अवस्था देखिको भित्री रहर भएको बताउदै मिश्रले सुटिङ्गको दौरानमा आफूले अभिनय गर्न नजाने बीचबाटै निकाल्न निर्देशक रौनियारलाई आग्रह समेत गरेका छन् । उनको भनाई अनुसार कलेज लाईफमा उनी केही नाटकहरूमा अभिनय गर्थे रे । रबिन्द्रलाई सो चलचित्रमा डाक्टरको विशेष भूमिकामा देख्न सकिने यूनिटले जनाएको छ ।
नेपालका अग्रपक्तिमा गनिने ४५ बर्षे खरा पत्रकार मिश्रले पत्रकारिता गरेको १८ बर्ष भैसक्यो । १५ बर्षयता उनी बीबीसीसँग आबद्ध छन् । उनका प्रश्नबाट माओवादी अध्यक्ष प्रचण्ड लगायतका निकै मैहु भन्ने नेता पनि आछु-आछु हुन्छन् । नेपालको पत्रकारितालाई विकास गर्न उनको तर्फबाट ठूलो योगदान पनि छ । आशा गरौ उनको उपस्थितिले जसरी नेपाली पत्रकारिताको विकास भयो त्यसै गरी चलचित्रको पनि विकास होस् । स्वागत छ मिश्रलाई !