आगामी माघ १४ गते देखि प्रदर्शनमा आउन लागेको सांगितीक चलचित्र 'स्वर' का निर्देशक प्रसन्न पौडेलले दोस्रो फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । राजधानीमा शनिबार साँझ डान्स पार्टी सहित आयोजना गरिएको एक कार्यक्रममा निर्देशक पौडेलले बिशुद्ध प्रेम कथामा आधारित चलचित्र 'बिकज आई लभ यू' लाई निर्देशन गर्ने घोषणा गरेका हुन् ।
लाईम लाईट क्रियशनले निर्माण गर्न लागेको सो चलचित्रका पुरुष कलाकारलाई समेत कार्यक्रममा परिचय गराईएको थियो । सो चलचित्रमा राजबल्लभ कोइराला, मुकेश आचार्य, दिवस उप्रेती तथा मोडल विमलेश अधिकारी मुख्य भूमिकामा रहने निर्देशक पौडेलको भनाई छ । तर सो फिल्ममा एक मात्र हिरोइन को हुन्छिन् भन्ने बारेमा केही समय पछी मात्र खुलाईने पौडेलको भनाई थियो ।
नयाँ फिल्म घोषणासँग प्रसन्नले आफ्ना चार हिरोहरु र स्वरका मुख्य तीन हिरोइन केकी अधिकारी, रिमा विश्वकर्मा र बेनिषा हमालसँग केही बेर कम्मर समेत मर्काएका थिए । सो चलचित्रको छायाकंन आगामी चैतदेखि थाईल्याण्डबाट सुरु गरिने बताईएको छ । हिन्दी र नेपाली दुबै भाषामा डबिङ्ग हुने उक्त फिल्मको ७० प्रतिशत छायाकंन थाईल्याण्ड र बाँकी नेपालमा हुने प्रसन्नले जानकारी गराए ।