
मानव बेचबिखनको आरोपमा गएको बैशाख दश गते आफू विरूद्ध परेको तीन उजुरीमा निर्माता तथा नायक रोज राणाले सफाई पाएका छन् ।
उजुरी परेको दुई महिनापछी गएको असार मसान्तमा आत्म समर्पण गरी जेल चलान भएका राणालाई दोषी नदेखेपछी काठमाण्डौ जिल्ला अदालतले मंगलबार उनको पक्षमा फैसला गर्दै सफाई दिएको हो । उनी मंगलबार साझबाट पूर्ण रूपमा बन्दी मुक्त समेत भएका छन् । पछिल्लो चरणमा ललितपुरको नख्खु सुधार गृहमा उनले बन्दी जीवन विताउदै आएका थिए । अदालतले उनलाई विना जरिवाना तारिखमा नधाउने गरी मंगलबार अपरान्ह सफाई दिएको हो ।
यस्तै सफाई पाए लगत्तै पहिलो पल्ट फिल्मखबरसमक्ष अर्न्तवार्ता दिदै रोजले चलचित्र निर्माण गर्ने कामलाई निरन्तरता दिने बताएका छन् । 'दादागिरी 'नामक चलचित्रबाट निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाले ६ वटा फिल्म बनाइसकेका छन् भने दुई वटा चलचित्र 'टक्कर दुई मुटुको' र 'महान'मा नायक समेत भएर अभिनय पनि गरिसकेका छन् । यस्तै रोजले एक साताभित्रै आफूले नयाँ फिल्म 'ग्याङ्गस्टार' को घोषणा समेत गर्ने बताएका छन् । जुन चलचित्रलाई आफैले निर्देशन गर्ने उनको भनाई छ ।