आफ्नो चलचित्रमा अभिनय गरेपछि मुम्बई पसेका नायक उप्रेती चलचित्रको रिलिजका समयमा काठमाण्डौ आउँदा चलचित्र 'दिलमाया' का निर्देशक राजु गिरी निकै खुसी देखिएका छन् ।
यहि शुक्रबारबाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र 'दिलमाया' को प्रचार प्रसारमा निखिलले केही सहयोग गर्देलान् भन्ने मनसायले पनि निर्देशक खुसी देखिएका हुन् । राजु भन्छन्, 'निखिल दाईलाई चलचित्रको प्रचारमा केहि सहयोग गरिदिनको लागी आज भेट्ने कोसिस गर्दै छु ।' आफूले अभिनय गरेको चलचित्रको बारेमा निखिल केही बोलिदिउन भन्ने उनको आशय छ । के निखिलले समय देलान् त ? राजु भन्छन्, 'समय मिलाउने कोसिस गरेको छु । आफ्नै चलचित्र ठान्नु भयो भने समय अबश्य दिनुहुनेछ ।'
यता आफूसँगै भिड्न लागेको अर्को चलचित्र 'स्वर' को प्रदर्शन मिती राजधानीमा सरेपछी गिरीलाई अर्को खुसी मिलेको छ । 'स्वर 'पनि माघ १४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको थियो तर चलचित्र नजुधाउने निर्णय गरि 'स्वर' ले काठमाण्डौमा आफ्नो रिलिज समय माघ २१ बनाएको छ जसले गर्दा 'दिलमाया' लाई फाईदा पुगेको छ । स्वर धकेलिएपछि आउँदो शुक्रबारबाट क्यु सिस्टमबाट 'इतिहास' र डिसिएनबाट 'दिलमाया' प्रदर्शन हुनेछ ।
सुरूची फिल्मस् प्रोडक्सनको व्यानरमा एलिजा रिजालद्वारा निर्मित यो चलचित्रमा निखिल उप्रेती, अरुसणमा लम्साल, अशोक फुयाँल , राजु गिरी, पवन बस्नेत आदि कलाकारले अभिनय गरेका छन् । प्लस टु पुस्ताको प्रेमकथामालाई मुख्य विषय बनाइएको यो चलचित्र काठमाडौं उपत्यका तथा मोफलसल गरी एकैपटक करिब ४० वटा चलचित्र हलमा प्रदर्शन गरिंदैछ । अर्जुन पोखरेलको संगीत रहेको सो चलचित्रका गीतमा राजेश पायल राई तथा दुर्गा खरेलले स्वर दिएका छन् । जुन गीतहरू अहिले निकै चर्चामा पनि छ ।