शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'स्वर' को युनिट थप प्रोमोशनका लागि शनिबार बुटवल पुगेको छ । टोलीमा चलचित्रका निर्देशक प्रशन्न पौडेल, नायक राजबल्लभ कोईराला, नायिकाद्वय केकी अधिकारी र बेनिशा हमाल तथा निर्माता सुरेन बलामी रहेका छन् ।
आईतबार मध्यान्न १२ बजे बुटवलको कालिका हलमा सो युनिट दर्शकसँग बसेर चलचित्र हेर्ने कार्यक्रम रहेको छ । बुटवलमा आफ्नो चलचित्रको बारेमा प्रतिक्रिया लिए पछि सो युनिट आईतबार नै धनगढी प्रस्थान गर्नेछ । धनगढीमा उनीहरूलाई त्यहाँका स्थानिय बासिन्दाले स्वागत गर्ने छन् र उनीहरूले आफ्नो चलचित्रको बारेमा बोल्नेछन् ।
धनगढी पछि युनिट पुन: बुटवलमा आएर एक कार्यक्रम गरि चितवन को हलमा आउनेछ । चितवन पछि हेटौंडा हुँदै युनिट काठमाण्डौ फर्कने छ र बुधबार काठमाण्डौमा चलचित्र 'स्वर' को भव्य प्रिमियर पनि गरिंदै छ । यो चलचित्र काठमाण्डौ उपत्यकाका करिब एक दर्जन हलहरूमा र उपत्यका बाहिरका केहि हलहरूमा आगामी शुक्रबारबाट चल्दैछ ।चलचित्रले उपत्यका बाहिरको हलहरूमा भने राम्रै व्यापार गरिरहेको बताईएको छ ।
उपत्यका बाहिरका पोखरा, दमक, बेनी, कुस्मा, धनगढी, उर्लाबारी, हेटौंडा, चितवन, बुटवललगायतका हलहरूमा शनिबार हाउसफुलका साथ 'स्वर' चलिरहेको युनिटले बताएको छ । चलचित्रलाई बढी जसो युवापुस्ताले मन पराएको बताईएको छ ।