चलचित्रको प्रदर्शन मिती नजिकिंदै गर्दा मुख्य भुमिकामा रहेकी नायिका नै गायब भएपछि चलचित्र 'मनमनै मन पराएँ' का निर्देशक राजेन्द्र उप्रेती निकै टेन्सन मूडमा रहेको खुल्न आएको छ ।
फाल्गुन ६ गतेबाट प्रदर्शनमा आउन लागेको सो चलचित्रमा केन्द्रिय पात्रको भुमिकामा रहेकी नायिका ऋचा सिंह ठकुरी अहिले कहाँ छिन् भन्ने कुरा न निर्देशकलाई थाहा छ न त अन्य चलचित्रकर्मीलाई नै । बुझ्नमा आए अनुसार ऋचा अहिले बिदेश भ्रमणमा गएकी छिन् तर कुन देशमा छिन् भन्ने कुरा कसैलाई पनि थाहा दिएको छैन । तर उनी जहाँ गएको भए पनि अबको केहि दिनमा उनी नेपाल फर्किने पारिवारिक स्रोत मार्फत बुझिएको छ ।
नेपाल फर्के लगत्तै उनले आफूले अभिनय गरेको दोस्रो चलचित्र 'मनमनै मन पराएँ' को प्रोमोशनमा लाग्ने छिन् । त्यसको साथसाथै उनले बिकाश आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र 'म तिम्रो भई सकें' मा अभिनय गर्ने छिन् । नायिका ऋचा यो समयमा हराए पनि चलचित्रको प्रिमियर सम्ममा आईदिए आफू निकै खुसी हुने निर्देशक उप्रेतीको भनाई छ । उनी भन्छन्, 'अहिले नायिका नभएर टेन्सन भएको छ । तर प्रिमियरमा भए पनि उपस्थित भईदिए केहि राहत हुनेथियो ।'
मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई निर्माता रहेको उक्त चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । जसमा ऋचाको साथमा मुकेश ढकाल, राज तिम्लिसिना, जय किशन बस्नेत, सुनिल थापालगायतले अभिनय गरेका छन् । चलचित्रमा ४ गीतहरू समाबेश गरिएको छ । जसमा महेश खड्का र बसन्त सापकोटाको संगीत रहेको छ ।