मनोज केसीको निर्माणमा भुतको कथामा आधारित फिल्म 'सन्त्रास' निर्देशन गर्ने जिम्मा पाएका निर्देशक दिनेश कार्कीले सो चलचित्रबाट हात झिक्ने संकेत देखाएका छन् ।
चेतना मुलक विभिन्न टेलिचलचित्र निर्देशन गरिसकेका कार्कीले सो चलचित्रको एक गीतको छायाकंन केही साता अघि चरिकोट पुगी सम्पन्न पनि गरेका थिए । छायाकंनको लागि कथाको कन्सेप्टमा पूर्ण रुपमा आफू तयार नभई निर्माता केसीले सुटिङ्गमा जान दवाव दिएकोले सो चलचित्र निर्देशन गर्न मन नलागेको निर्देशक कार्कीले खुलासा गरेका छन् ।
निर्देशक कार्कीले निर्मातासँग सो फिल्मको कथा ब्यवसायिक भएकाले त्यसको कथाबस्तु बुझ्न केही समय आफूले माग गरेको पनि बताए । जस अनुरुप कथालाई गहिरो रुपमा बुझ्न उनले केही दिन यता गौशालाको बनकाली गई दैनिक चार घण्टाका दरले एक्लै अध्ययन पनि गरिरहेको बताए । 'म आफू तयार नभई छायाकंनमा जाँदिन तर दवाव बढे फिल्मबाट हात झिकिदिन्छु', कार्कीले फिल्मीखबरसँग भने ।
नेपाली चलचित्र उद्योगमा निर्देशकको भिजनलाई निर्माताले यसरी दवाव दिनु यो पहिलो घटना भने हैन । दवावमा रहेर फिल्म बनाउने बाध्यताले नेपाली चलचित्रको स्तर बृद्धि नहुनु एक प्रमुख कारण पनि हो ।