जब जब क्यालेण्डरमा रातो अक्षर देखिन्छ तब तब नेपाली चलचित्रका निर्माताहरू जुर्मुराउन थाल्छन् । अर्थात चाडपर्व र सार्वजनिक विदा देख्यो कि हरेक निर्माताहरू आफ्नो चलचित्र चलाउन तम्सिहल्छन् । सायद त्यहि भएर नै होला यस बर्षको अन्तिम समय चैत्र २५ गते शुक्रबार करिब आधा दर्जन चलचित्रहरू एकसाथ प्रदर्शन हुने तयारीमा छन् ।
एकातर्फ नेपालीहरूको नयाँ बर्ष अर्का तर्फ रामनवमी र यि दुबै बिदाका दिनसँग जोडिएका शनिवार । एक साताको समयमा तीन साता सम्मको होल्डओभर धान्ने हिसाबले सो समयमा चलचित्र चलाउन निर्माताहरू बिच हानथाप भएको छ । बर्तमान परिप्रेक्षमा चलचित्रले राम्रो व्यापार नगरिरहेको अवस्थामा सो समयमा केहि हद सम्म भएपनि चलचित्रको व्यापार राम्रो हुन्छ कि भने आशले निर्माताहरू आ-आफ्नै तवरले अहिले देखि नै हल बुक गरेर बसेका छन् ।
देशकै ठूलो व्यानर भनिएको गोपीकृष्णको प्रितीको फूल, प्रदिप उदयको मालतीको भट्टी, टंक लम्सालको प्रहार, सुसिल पोखरेलको निगरानी, रिमेश अधिकारीको म बिर्सुं कसरी लगायतका चलचित्र प्रदर्शन हुँदैछन् । यि सबै चलचित्रले आ-आफ्नै किसिमको बिशेषता बोकेर चर्चामा छन् र दर्शकको मन जित्न सक्ने विश्वास लिईएको छ । गोपीकृष्णले आफ्नो चलचित्र प्रितीको फूललाई आफ्नै च्यानलमा प्रदर्शन गर्दैछ भने मालतीको भट्टी र प्रहारलाई डिसिएनले डिस्ट्रिब्युसन गर्दैछ । यता सुसिल पोखरेलको निगरानी भने पालो प्रणालीबाट प्रदर्शनमा आउँदै छ । यि सबै चलचित्रहरू देशभर एकसाथ प्रदर्शन हुँदैछ ।
यसरी निर्माताहरू एक आपसमा भिड्दा त्यसको फाईदा न आफूलाई हुन्छ न अर्कालाई नै । चलचित्रहरू एक आपसमा भिडेपछि कलेक्सन बाँड्नुको विकल्प केहि पनि छैन । यस्ता घटना विगतमा थुप्रै घटिसकेका छन् र पनि निर्माताहरूमा चेतना कहिल्यै आउन सकेन । आखिर निर्माताहरू एकआपसमा किन लड्छन् त ? हामी चाहन्छौं फुटेर हैन जुटेर काम गरौं ।