प्रदर्शनको मिती नजिकिंदै गरेको अवस्थामा चलचित्र 'व्याच नं १६' को नाम सुन्ने चलचित्र पारखीहरू बिरलै भेटिएलान् । जब सञ्चार माध्यममा चलचित्रको चर्चा परिचर्चा नै नभएपछि नाम सुनियोस् पनि कसरी ?
हुनत युनिटले आफ्नो चलचित्रको प्रचार प्रसारका लागी शहरका ठाउँ ठाउँमा होडिङ बोर्ड नराखेको हैन । होडिङ बोर्डमा देखिएका कलाकारहरूको अनुहार नै ठम्याउन हम्मे हम्मे परेपछी त्यो होडिङ बोर्डको पनि खासै महत्व नहोला । होडिङ बोर्डमा राखिएका कलाकारलाई दर्शकले पावरवाला चस्मा प्रयोग गर्दा पनि चिन्न सक्लान् भन्न सक्ने अवस्था छैन । केहि घोरिएर हेर्ने हो भने सुमन सिंहलाई सम्म दर्शकले ठम्याउन सक्लान् ।
रिलिजको मिती नजिकिंदै गर्दा अहिले सम्म एउटा मात्र प्रोमो टेलिभिजनमा देख्न पाईन्छ तर सो प्रोमोमा को-को कलाकार छन् भनेर चिन्न दर्शकलाई निकै गार्हो पर्न सक्छ । प्रोमोमा कलाकारको प्रस्तुती भन्दा पनि प्राबिधिक सबलतालाई प्रस्तुत गर्न खोजिएको छ । हुनत चलचित्रमा नाम चलेका कलाकार खासै कोहि पनि छैनन् । करिब दुई दर्जन चलचित्रमा अभिनय गरेका असफल हिरो सुमन सिंह बाहेक अन्य कलाकारलाई चिन्न दर्शकलाई गार्हो नपर्ला भन्न सकिन्न ।
यो त रह्यो सञ्चार माध्यममा प्रचार प्रसारको अभावले पछाडी परेको चलचित्र 'व्याच नं १६' को कुरा । अब कुरा गरौं चलचित्रको भित्री कुरा । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार चलचित्र 'व्याच नं १६' मा अधिकांश संवादहरू परिवारसँग बसेर हेर्न नसकिने खालका छन् । सस्तो प्रचार बाजीका लागी चलचित्रमा आपत्ती जनक दृश्यहरू पनि राखिएको बुझिएको छ ।
अब प्रश्न आउँछ, आधुनिकताको नाममा प्रयोग गरिएका यस्ता दृश्य र संवादहरूलाई सेन्सर बोर्डले पास गर्ला त ? यो प्रतिक्षाको बिषय बनेको छ । तर सस्तो प्रचार बाजी र हल्ला खल्लाकै लागी प्रयोग गरिएका त्यस्ता दृश्य र संवादहरूले नेपाली सिनेमाको गरिमा भने पक्कै पनि जोगाउन सक्ने छैन । बेलैमा चेतना भया !