पछिल्लो समयमा निर्देशकको रोजाई बनेका चक्लेटी नायक मुकेश ढकाल निकै मख्ख छन् । कारण उनले अभिनय गरेको चलचित्र 'मनमनै मन पराएँ' को
प्रदर्शन मिती नजिकिंदै छ ।
आफूले अभिनय गरेको चलचित्र प्रदर्शन हुँदैमा उनी मख्ख भएका भने हैनन् । उनी सो चलचित्रमा पहिलो पटक नेगेटिभ पात्र भएर देखिंदै छन् । हुनत निर्देशकहरू किस सिन आयो कि मुकेशलाई सम्झि हाल्छन् । आफ्नो मान्छे आफ्नै हुन्छ र निगरानीमा त उनले नायिका अरूणिमा लम्सालसँग मज्जाले चुम्बनको दृश्य दिएका छन् । चुम्बनको दृश्य दिंदा दिंदा वाक्क भएर पनि होला पहिलो पटक फरक भुमिकामा देखिन पाउँदा उनी खुसी भएका ।
पहिलो पटक नेगेटिभ पात्र भएर पर्दामा देखिन लागेका चक्लेटी नायक मुकेश चलचित्रको अन्त्य तिर भने सुध्रिने बताईएको छ । के कारणले सुध्रिन्छन् त ? पक्कै पनि त्यसको लागी भने त फाल्गुन नै कुर्नु पर्ने हुन्छ । राजेन्द्र उप्रेतीले निर्देशन गरेको सो चलचित्र आगामी शुक्रबार अर्थात फाल्गुन ६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।
मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेशको साथमा राज तिमल्सिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, सुनिल थापालगायतले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित सो चलचित्रमा महेश खड्का र बसन्त सापकोटाको संगीत रहेको छ ।