
दुई पुस्ताको जीवनकथालाई आधार मानेर निर्माण गरिएको चलचित्र 'सायद' को छायाँकन समाप्त भएको छ । शनिबार बालाजु स्थित विकास कम्पनीमा ५१ औं दिनमा चलचित्रको इन्डक्ल्याप गरिएको युनिटले जानकारी दियो ।
दुर्गिस फिल्मसको ब्यानरमा सुरज सुब्बा (नाल्बो) ले निर्देशन गरेको सो चलचित्रको छायाँकन गत पुष ५ गतेबाट शुरू गरिएको हो । पोस्टप्रोडक्सन समेत गरि करिब ४८ लाखमा निर्माण सम्पन्न हुने सोइ चलचित्रलाई एकेन्द्र कुँवर, अनिल रावल र भूकृष्ण ताम्राकारले निर्माण गरेका हुन् । नायिका झरना थापाको मुख्य भुमिका रहेको यस चलचित्रबाट करिब एक दर्जन कलाकारले न्यू इन्ट्री मार्दैछन् । जसमा सुनिल रावल, संयम पुरी, अनिता दाहाल, ऋतिका लामा, दिनेश रावल, गोपाल यक्तेन आदी छन् । यसैगरी चलचित्रमा विल्सन विक्रम राई, आकाश खवास को साथमा अभिनेत्री करिष्मा मानन्धर र नायक बाबु बोगटी बिशेष भुमिकामा प्रस्तुत हुँदैछन् ।
निर्देशक सुब्बाकै कथा रहेको सो चलचित्रमा न्यूह बज्राचार्य, स्याडोज ब्यान्ड, बाबु बोगटी र अराज केशवले संगीत दिएका छन् । चलचित्रमा गोबिन्द राई र अराज केशबको कोरियोग्राफी, संजय लामाको सिनेमाटोग्राफी रहेको छ । चलचित्रमा सुदूर पश्चिमको डेउडा गीत समावेश गरिएको छ ।