लिम्बुवान चलचित्र विकास बोर्डले आइतबार इटहरीमा करिब डेढ दर्जन कलाकारलाई सम्मान गरेको छ । बोर्डले लामो समयदेखि चलचित्र र कलाको माध्यमबाट योगदान पुर्याउँदै आएका नायिका रेखा थापा, निर्माता राजकुमार राई, अशोक शर्मा, उद्धव पौडेल, निर्देशक प्रताव सुब्बा, उदय सुब्बा, प्रकाश सुब्बा, प्रेम सुब्बा, फिल्म वितरक चैतन्य बराल, नृत्य निर्देशक कामेश्वर झा, संगीतकार मणिकमल क्षेत्री, दिनेश सुब्बालगायतलाई सम्मान गरेको थियो ।
देश संघीयतामा प्रवेश गरिरहेको बेला लिम्बुवान स्वायत्त प्रदेश माग गर्दै आएका लिम्बुवानहरूले चलचित्रको विकासका लागि सो बोर्डको गठन गरी लिम्बुवान प्रभाव क्षेत्रका कलाकारहरूलाई समान गरेको बोर्डका सचिव मित्र लिङ्देनले जानकारी दिए । कार्यक्रममा आयोजकले सरकारसमक्ष जातीय परम्परागत भाषाका सिनेमा निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बिशेष अनुरोध गरेको थियो ।