मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी गर्दै आएको चलचित्र 'मनमनै मन पराएँ' को युनिट प्रचारप्रसारका लागी मंगलबारबाट देश दौडाहमा निस्किएको छ ।
गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'मनमनै मन पराएँ' का निर्देशक राजेन्द्र उप्रेती, नायकद्वय मुकेश ढकाल, राज तिमिल्सिना र निर्माता रामेश्वर भट्टराईको टोली दर्शक प्रतिक्रिया लिन र चलचित्रको थप प्रचारप्रसारका लागी बुधबार हेटौंडा पुग्दै छ । हेटौंडाका दर्शकसँग चलचित्रको बारेमा प्रतिक्रिया लिएपछि युनिट चितवन जाने बताईएको छ । त्यसपछि सो युनिट पश्चिम नेपालको भ्रमणमा जानेछ । पश्चिम नेपालको भ्रमण सकेर युनिट पूर्व पनि पुग्दै छ ।
रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, मिथिला शर्मा, सुनिल थापालगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र दुई युवकको कथालाई त्रिकोणात्मक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र तन्नेरी पुस्ताका दर्शकलाई लक्षित गरि निर्माण गरिएको निर्देशक उप्रेतीले बताए ।
चलचित्रको प्रचारप्रसारमा तिब्र रूपले लागी रहेको अवस्थामा चलचित्रकी नायिका ऋचा सिंह ठकुरी भने अझै लापत्ता छिन् । नायिकाको अत्तो पत्तो नभएपछि चलचित्रको प्रोमोशनका लागी केहि समस्या आएको निर्माता भट्टराईले बताए । उनले भने, 'नायिकाले चलचित्रको प्रचारप्रसारमा सघाउलिन् कि भन्ने ठूलो आश थियो तर त्यो आश आज निराशामा बदलिएको छ ।'
चलचित्रको प्रचारप्रसारमा आउने बाचा गरेकी नायिका अहिलेसम्म सम्पर्कमा नआएपछि नायिकाले ठूलो धोका दिएको ति निर्माताको भनाई छ । केहि आवेशको मुद्रामा देखिएका निर्माता भट्टराईले नायिका प्रति लक्षित गर्दै भने, 'तिनै कलाकारको भरमा हामीले लाखौं रूपियाँ खर्चेका हुन्छौं तर आज आएर चलचित्रको प्रचारप्रसारमा सरिक नभई दिंदा हामीलाई निकै दु:ख लागेको छ ।'