मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिदेशी चलचित्रसँग दाँजिएको 'व्याच नं १६'

फिल्मीखबर, काठमाण्डौ, 2011/02/25

शुक्रबार राजधानीमा चलचित्र 'व्याच नं १६' को अडियो विमोचन सँगै उपस्थित सञ्चारकर्मी र चलचित्रकर्मीलाई बाँडिएको सिडीको पछाडी पट्टिको भागमा 'व्याच नं १६' हिन्दी, अंग्रेजी, कोरियन र नेपाली मध्ये कुन चलचित्र हो भनी प्रश्न राखी सो चलचित्रलाई घुमाउरो पाराले बिदेशी चलचित्रसँग दाँजिएको छ ।

 

साइलेन्स इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण गरिएको नेपाली चलचित्र 'व्याच नं १६' का प्रचार सामाग्री हेर्दैमा बिदेशी चलचित्रको जस्तो देखिने कुरालाई नकार्न भने सकिंदैन । सायद यिनै प्रचार सामाग्रीलाई आधार मानेर होला चलचित्र निर्माण युनिटले सो प्रश्न बिशेष गरी मोबाईल प्रयोगकर्ताहरूका लागी राखेको छ ।

 

'प्ले एण्ड विन' भन्दै सबैभन्दा बढी सहि उत्तर पठाउने एक जनालाई चलचित्रको युनिटले चलचित्रको प्रिमियर शोमा सहभागी हुन पाउने गरी चलचित्र हेर्न २ वटा पास उपलब्ध गराउने अभियान ल्याएको छ । सो टिकट सँगै 'व्याच नं १६' को नाम लेखिएको टि-सर्ट, अडियो सिडी र चलचित्रको पोस्टर पनि उपहार स्वरूप प्रदान गरिने सिडी कभरमा लेखिएको छ ।

 

बिक्रान्त श्रेष्ठको निर्माणमा पिताम्बर पाण्डेले निर्देशन गरेको सो चलचित्र आगामी शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । अनुप बराल, सुमन सिंह, रूबि भट्टराई, शुष्मा कार्की, अर्पण थापा लगायतका कलाकारले अभिनय गरेको सो चलचित्र दुई प्रहरी बिचको सोचमा आउने ट्क्रावमा आधारित रहेर निर्माण गरिएको बताईएको छ । सुगम पोखरेल, किचमान चित्रकार र बिक्रान्त श्रेष्ठको संगीत रहेको सो चलचित्रका गीतमा सुगम पोखरेल, शिव परियार, रजिना रिमाल, सनुप पौडेल, किचमान चित्रकार र मानष श्रेष्ठले स्वर दिएका छन् । जुन गीतहरू युवा गीतकार भुपेन्द्र खड्काले रचना गरेका हुन् ।

 

कार्यकारी निर्माता सुरेन्द्र पौडेलको सम्पादन रहेको सो चलचित्रमा निर्देशक पाण्डेको कथा, प्रदिप भारद्वाजको संवाद, पुरूषोत्तम प्रधानको छायाँकन, रेनाशा राईको नृत्यनिर्देशन, रोशन श्रेष्ठको द्वन्दनिर्देशन तथा किचमान चित्रकारको व्याकग्राउण्ड म्युजिक रहेको छ । अश्लिल शब्दको प्रयोग गरी चर्चामा रहेको सो चलचित्रलाई सेन्सर बोर्डले भने बिना काटछाँट प्रदर्शनको अनुमती दिएको निर्माण पक्षले जनाएको छ ।

 

आजको अडियो डिसी सम्भवत चलचित्रको पहिलो पत्रकार भेटघाट कार्यक्रम हो । केहि दिन अगाडी मात्र फिल्मीखबर डटकम सहित केहि सञ्चार माध्यमले चलचित्रको प्रचारप्रसारको अभावले 'व्याच नं १६' धरापमा भनि समाचार सम्प्रेषण गरेपछि अहिले चलचित्रको प्रचारप्रसारलाई केहि गति प्रदान गरिएको बुझिएको छ । चलचित्रको प्रचार प्रसार कम हुँदा चिन्तित देखिएका नायक सुमन सिंह आजको कार्यक्रममा भने केहि खुसी देखिएका थिए । थुप्रै चलचित्रमा अभिनय गरेर पनि खासै सफलता पाउन नसकेका सुमनलाई यस चलचित्रले चर्चामा ल्याउन सक्ने आश भने अधिकांशले गरेका छन् ।