सम्झना आई दिन्छ..., पहिलो पिरती लाएको..., यस्तै सम्बन्ध... जस्ता दर्जनौं चर्चित गीत गाएर चर्चा कमाएका गायक सनुप पौडेल पार्श्व गायनबाट पनि चर्चा कमाउने शुरमा छन् । चलचित्र 'व्याच नं १६' मा पहिलो पटक स्वर दिएका सनुपले अहिले सम्म मेरो लभ स्टोरी, आई एम सरी, मालतीको भट्टी लगायतका करिब एक दर्जन चलचित्रमा स्वर दिई सकेका छन् ।
सनुपले गीत गाएका कुनै पनि चलचित्र सार्वजनिक भएका छैनन् र पनि गीत गाउने अफर थुप्रै आएको सनुप बताउँछन् । यसरी चलचित्र रिलिज नहुँदै अफर आउँदा सनुप कन्फ्युजमा परेका छन् । उनी भन्छन्, 'मैले बिश्वास जितेको हो वा म माथी बिश्वास गर्नु भएको हो, केही बुझ्न सकेको छैन ।' गायनमा सारा जिन्दगी नै व्यतित गर्ने सोचमा रहेका सनुपले हरेक बिधाका गीत गाउने सक्ने आत्मबिश्वास बोकेका छन् ।
भारतको सिलोङमा जन्मिएर पनि सानै देखिको नेपाली गीतसंगीत प्रतिको मोहले उनलाई नेपाल आउन बाध्य बनायो । भारतमा जन्मेको भएपनि संगीत भने नेपालमै आएर सिकेको सनुप बताउँछन् । २१ बर्षको उमेरमा नेपाल आएर मौका र चुनौती बराबर ठानी आफ्नो कला प्रस्तुत गर्दै आएका सनुप छोटो समयमा नै हजारौं स्रोताको मनमा बस्न सफल भईसकेको कुरालाई नकार्न सकिंदैन ।
करिब १५० नेपाली गीत गाईसकेका सनुपले 'भ्वाईस' र 'रेज' गरी दुई एल्बम पनि निकाली सकेका छन् । हाल सेन्टमेरिज स्कुल, जावलाखेलमा संगीतको अध्यापन गराईरहेका सनुपले गायन क्षेत्रमा आफ्नो भबिष्य उज्जवल देखेको बताउँछन् । उनी भन्छन्, 'संगीतबाट म कहिल्यै फ्रष्टेड भईन् किनकी म सन्तुष्ट छु ।'