बुटवलमा शनिवार भएको कलाकार र नृत्यकारहरुको विच खेल भएको खेलमा फुटवल प्रतियोगिता भन्दा पनि चश्माको बढी चर्चा चल्यो । त्यो पनि नायिकाहरुको मात्र । फिफा टेक्निकल सेन्टर देवीनगरमा भएको प्रतियोगितामा मैदानमा खेलाडीको रुपमा मैदानमा नदेखिए पनि फुटवल पोसाकमा मैदान बाहिर तीन नायिकाको चश्माको चर्चा निकै चल्यो । नन्दिता केसी, गरिमा पन्त र युना उप्रेती तीनै नायिका कालो रेगनका साथमा उपस्थित मैदान बाहिर थिए ।
कार्यक्रम सञ्चालकले कलाकारको परिचय गराउने क्रममा लुम्विनी अञ्चलकी भएको कारण सवैभन्दा पहिलो मौका पाएकी नन्दिका केसीले आफ्नो परिचय दिन नभ्याउदै कार्यक्रममा उपस्थित दर्शकले चश्मा खोल्न आग्रह गरे । पहिलो त चश्मा खोल्न हिच्किएको नन्दिताले दर्शकका आग्रह टार्न नसकेपछि पछि चश्मा निकाल्न बाध्य भईन् । नन्दिताले चश्मा निकाल्ने बितिकै दर्शकको वाह वाहीले रंगशाला गुञ्जायमान बनेको थियो । त्यसपछि पालो आयो गरिमा पन्तको । उनले पनि आफ्नो परिचय सुरु के गरेकी थिईन् फेरी दर्शकको हल्ला सुरु भयो र उनले पनि चश्मा खोल्नु पर्यो । चश्मा खोलेपछि नायिका गरिमाले दर्शकलाई सोधिन्, ' चश्मा खोल्दा राम्रो कि लगाउदा ?' दर्शकदीर्घको एउटै उत्तर थियो, 'खोल्दा राम्रो ।'
अर्को पालो कुरिरहेकी नायिका युना उप्रेतीले लगाएको चश्माको अत्याधिक चर्चा हुन थालेपछि पहिले नै चश्मा खोलेर प्रकट भइन र सोध्न थालिन्, 'म त पहिले नै चश्मा खोलेर आएँ है ।' त्यसपछि उनले पनि दर्शकको वाहवाह बटुलिन । तीनैजना नायिकाहरु फुटवल खेल्ने जर्सीमा देखिए पनि उनीहरु फुटवल भने खेलेनन् । उनीहरुले आफ्नो परिचयको क्रममा मात्र आफ्नो आगामी चलचित्रको बिज्ञापन मात्रै गरे । नायिका नन्दिताले आगामी चलचित्र मालतीको भट्टी, युना र गरिमाले चलचित्र प्रितीको फुलको बिज्ञापन गरे र दर्शकलाई आफ्नो चलचित्र हेरिदिन आग्रह पनि गरे ।
देवीनगर रंगशलामा अर्को आर्चश्य के पनि देखियो भने दर्शकले नायक भन्दा पनि बढी खलनायकलाई रुचाए । प्राय: चलचित्र हेर्दा नायकलाई पर्दामा देखिदा हुटिङ सुरु गर्ने दर्शकहरुको मत शुक्रवार भने उल्टो देखियो । कार्यक्रममा स्थलमा उपस्थित नायकहरु राज तिमिल्सीना, जयकिसन बस्नेत, धिरेन शाक्य, सुमन सिंह भन्दा पनि खलनायक सुनिल थापालाई हेर्न दर्शक धेरै आतुर देखिए । तलदेखि माथिसम्म कालो ड्रेसमा उपस्थित थापाले कार्यक्रममा आएर अभिवादन गरिरहदा दर्शकले ताली मात्र बजाएका थिए ।
गुण्डा बदमास भनेर आफुलाई परिचय गराइ रहँदा दर्शकहरु दिल खोलेर हासिरहेका देखिन्थे । खलनायक थापाले मुम्वईमा मुन्नी र नेपालमा आफु बदनाम भएको बाक्य टुङयाउदा दर्शकको हासो थामि नसक्नु थियो । फुटवल खेल्नको लागि महानायक राजेश हमाल,चर्चित नायिका रेखा थापा आउने भनिए पनि शनिबार भने दुवैजना देखिएनन् । दर्शकलाई आर्कर्षित गर्ने हेतुले केही दिन अगाडि देखि नायक राजेश र रेखा आउने भनि व्यापक प्रचार प्रसार गरिएको थियो ।
सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसले आयोजन गरेको 'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गत कलाकार र नृत्यनिर्देशक बिच बुटवलमा भएको सो खेलमा नृत्यनिर्देशकहरूले कलाकारलाई १-० ले हराएका थिए ।