आगामी चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' ले नेपालको प्रहरी प्रशासनलाई च्यालेञ्ज दिएको छ । नेपालमा अपहरणका घटना निकै बढ्दै गईरहेको अवस्थामा नेपाल सरकार र प्रहरी प्रशासनले केहि गर्न नसकेको भन्दै उनीहरूलाई पाठ सिकाउन चलचित्र निगरानी निर्माण गरिएको निर्माता शुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।
नेपालमा बढ्दो बाल अपहरणको बिषयलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रले अपहरणलाई कसरी रोक्न सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएको निर्माता पोखरेलको भनाई छ । निचलचित्र दर्शकले भन्दा पनि बढि ध्यान दिएर नेपाल सरकारका प्रमुख व्यक्ति र प्रहरी प्रशासनले हेर्न जरूरी छ भन्दै निर्माता पोखरेल थप्छन्, 'केहि बर्ष पहिले आफ्ने गाउँको सानो केटो बिबेक लुईटेल अपहरण पश्च्यात हत्याको कथा बस्तुलाई मुख्य आधार मानेर चलचित्र निर्माण गरेको छु । त्यसैले यो चलचित्र हरेक अभिभावकले पनि हेर्न जरूरी छ ।'
यसैगरी चलचित्रमा एउटा प्रेमीले आफ्नो ज्यानको बाजी लगाएर कसरी आफ्नी मायालुलाई बचाउँछ र उसको निगरानी कसरी गर्छ भन्ने कुरालाई पनि चलचित्रले प्रस्ट्याउन खोजेको हुनाले यो चलचित्र युवावर्गले पनि हेर्नुपर्ने निर्माता पोखरेलको भनाई छ । चलचित्र क्षेत्रमा नियमित चलचित्र निर्माण गरेर सफल निर्माताको रुपमा चिनिएका निर्माता पोखरेलले यो चलचित्र दर्शकले मनपराई दिए आफूले देशको लागि केहि गर्न सकेछु भन्ने लाग्ने कुरा समेत बताए ।
राजेन्द्र उप्रेतीले निर्देशन गरेको चलचित्रमा विराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल, जेनिशा केसी लगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रका गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् ।