बासुदेव पोखरेलले निर्देशन गरेको चलचित्र 'म बिर्सुं कसरी' को छायाँकन समाप्त भएको छ । मंगलबार काठमाण्डौको कपनमा रातभर छायाँकन गरेर चलचित्रको छायाँकन कार्य सकिएको निर्माता रिमेश अधिकारीले जानकारी दिए । सम्पूर्ण छायाकंन काठमाण्डूमा नै गरिएको निर्माता अधिकारीले बताए ।
गएको माघ तीन गते देखि शुरू भएको सो चलचित्रको छायाँकनसँगै सम्पादन कार्य पनि अन्तिम चरणमा पुगेको छ । पद्म कुमारी फिल्मसको ब्यानरमा रिमेश अधिकारी, मनोज आचार्य तथा किशोर साम्वाहाम्फेले निर्माण गरेको सो चलचित्रमा सुमन सिंह, आयुष रिजाल, मुकेश आचार्य, सोनिया केसी र नीता ढुङ्गाना प्रमुख भूमिकामा छन् ।
चलचित्रमा सुमन तन्डुकारले क्यामेरा चलाएका छन् भने राम जनकको द्धन्द तथा बब्बु थापाको नृत्य र विनोद खम्बु लगायतका केही व्यक्तिको संगीत समेटिएको छ । निकै तिब्र गतिमा काम भईरहेको सो चलचित्रको आगामी चैत्र १० गते भित्रमा पोस्टप्रोडक्सनको सम्पूर्ण कार्य सक्ने लक्ष्य राखिएको निर्देशक पोखरेलले जानकारी दिए ।चैत्र २५ गते सार्वजनिक गरिने सो चलचित्रको प्रचारप्रसारलाई पनि तिब्र पारिएको छ ।