करिब दुई बर्ष अघि मुम्बई पुगेकी नायिका निरूता सिंह दुई बर्ष पछि नेपाल फर्किन र दुई चलचित्र 'द गेम' र 'मलाई मन पर्यो' मा अभिनय गरेर पुन: मुम्बई नै फर्किईन् । दुई बर्ष अघि सुटुक्क बलिउड जाँदा निरूता अब नेपाली चलचित्रमा नफर्कने हो की भन्नेहरू धेरै नै थिए ।
निरूता 'इन्टेरियर डिजाइनिङ' को कोर्ष गर्न मुम्बई गएको भएपनि उनका बारेमा सञ्चारमाध्यममा निकै टिकाटिप्पणी पनि भए । हुनपनि उनी जुन सपना बुनेर मुम्बई पुगेकी थिईन् त्यो सपना साकार हुन सकेन अर्थात उनले 'इन्टेरियर डिजाइनिङ' को कोर्ष पूरा गर्न नपाई नेपाल फर्किईन् र नेपाली चलचित्रमै अभिनय गर्न व्यस्त भईन् । केहि महिना अघि निरूता पुन: मुम्बई गईन् । फेरि उनी माथी शंका गरियो कतै उनी आफ्नो अधुरो सपना पुरा गर्न गएकी त हैनन् भनेर ।
मुम्बई गएको दुई महिना बित्न नपाउँदै उनी अहिले नेपाल फर्की सकेकी छिन् । आखिर उनी मुम्बई किन गईन् त ? निरूता भन्छिन्, 'मुम्बईमा भएको मेरो सामान सार्न गएकी हुँ।' मुम्बईमा आफू बस्दै आएको कोठाको एग्रिमेन्ट सकिएकोले त्यो सामान घरमा लैजान उनी मुम्बई पुगेकी रहिछन् । तर नेपाल छिटो फर्कनु पर्ने भएकोले उनले सो सामान दार्जिलिङ लैजान पाईनन् र मुम्बईमा रहेका आफन्तकोमा उनले सो सामान राखिन् र हतार हतार गरेर नेपाल आईन् ।
चलचित्र 'मलाई मन पर्यो' को बाँकी दुई गीतको छायाँकन र डबिङका लागि हतारिएर नेपाल आएकी निरूताले सो चलचित्रको काम सकिए लग्गतै पुन: मुम्बई गएर आफ्नो सामान घर लैजाने बताईन् । पटक-पटकको मुम्बई बसाइपछि त्यहाँको जीवन शैलीको राम्रो अनुभव संगालेकी निरूताले अबका दिनमा थोरै तर राम्रा चलचित्रमा अभिनय गर्ने बताईन् । उनले भनिन्, 'शुरूका दिनमा पैसाको लागी मन नपरी नपरी पनि केहि चलचित्रमा काम गरें तर अब चलचित्रको कथाबस्तु त मेकर हेरेर मात्र चलचित्रमा काम गर्छु ।'