सडक सुबिधा र भौतिक पुर्वाधारको विकाससँगै हिमाल पारीको जिल्ला मुस्ताङ चलचित्र, वृत्तचित्र र गीत छायांकनका लागि उपयुक्त गन्तब्य बन्न थालेको छ । पुरातात्विक, साँस्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त गन्तब्य बनाउन थालेका हुन् ।
सुख्खा र आकर्षक भु-वनोट भएकाले मुस्ताङमा छायांकन गर्न भारतीय चलचित्रकर्मीहरु पनि आउने गरेका छन् । मुस्ताङमा मासिक २/३ वटाका दरले चलचित्र छायांकन टोली आउने गरेका छन् । मुस्ताङको भुगोलमा गीत छायांकन गर्नेहरुको पनि कमि छैन । मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, टुकेचे लगायतका स्थान छायांकनका लागि आकर्षक स्थान बनेका छन् ।
उपल्लो मुस्ताङमा बिदेशी नागरिक प्रवेशका लागि गृह मन्त्रालय अन्तर्गत अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ । उपल्लो मुस्ताङको भ्रमण गर्ने विदेशी पर्यटकका साथै छायांकन गर्नेहरुको संख्या बढ्दै जान थालेको छ । हालै उपल्लो मुस्ताङमा फ्रान्स र अष्ट्रेलियाको छायांकन टोलीले बौद्ध धर्म सम्बन्धि वृत्तचित्र छायांकन गरेर फर्केको छ ।
फिस्टेल एयरको हेलीकप्टर मार्फत फागुन १६ गते बिहान त्यहाँ पुगेको टोलीले उपल्लो मुस्ताङको चराङ, घमी, घिलिङ, मराङ स्थित पुरानो लुरी गुम्वा, लोमाङथाङ लगाएतका ठाउँहरुमा छायांकन गरेको थियो । हिन्दु, वौद्ध, इसाई र इस्लाम धर्म गरि ४ धर्मको बारेमा बृत्तचित्र तयार पार्ने क्रममा बौद्ध धर्मको वृत्तचित्र लागी मुस्ताङ आएको टोली हेलिकप्टर मार्फत नै फर्किएको छ ।