पितृसत्तात्मक समाजमा हुर्किएकी नेपालकी आधुनिक युवतीका स्वप्नील आकाङ्क्षाहरुलाई पर्दामा उतारिएको चलचित्र 'देवयानी' को प्रिमियर दक्षिण कोरियामा गरिने भएको छ । सहिद फिल्मस् प्रालिको ब्यानरमा विजय वस्नेतले निर्देशन गरेको सो चलचित्रलाई नेपाली नयाँ वर्ष २०६८ को अवसर पारेर नेपाल योङ्ग स्टार ग्रुप र काभ्रे सम्पर्क समितिले संयुक्त रूपमा अप्रिल १० तारिखका दिन सिओलमा 'देवयानी' को प्रिमियर गर्दैछ ।
नारी मनोविज्ञान, लैङ्गिक समता, सामाजिक रुपान्तरण र राष्ट्रियताको अपनत्वको साथमा देश प्रेमका कथाहरूलाई समेटेर निर्माण गरिएको सो चलचित्रको प्रिमियरले विदेशमा बस्ने नेपालीलाई मातृभूमिको तिर्सना मेटाउन सक्ने दाबी निर्देशकले गरेका छन् । नेपाली चलचित्र उद्योग तथा निर्मातालाई स्थापित गराउन र नेपाली चलचित्रलाई बिश्वव्यापीकरण गर्न चलचित्रको पहिलो शो बिदेशमा नै गर्न लागिएको निर्देशक बस्नेतले बताएका छन् ।
निखिल उप्रेती, दिलिप रायमाझी, तृप्ति नाडखर, विमला केसी, अनिल पाण्डे लगायतले अभिनय गरेको सो चलचित्रमा डा कृष्णहरि बरालको गीत, लक्ष्मण शेषको संगीत तथा वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । यसका साथै चलचित्रमा निर्देशक स्वयंको पटकथा, राजु विक्रम थापाको छायाँकन तथा रोशन श्रेष्ठको द्वन्दनिर्देशन रहेको छ । नायिका बिमला केसी चलचित्रमा देवयानीको भुमिकामा प्रस्तुत भएकी छिन् ।