भनिन्छ कुनैपनि चलचित्रको संगीतमा मिठास छ भने सो संगीतले चलचित्रको ब्यापारमा पनि महत्वपुर्ण भूमिका खेल्न सक्छ । यस्ता थुप्रै उदाहरणहरु छन् जुन चलचित्रको गीतसंगीत श्रोता दर्शकको मुखमा झुण्डिए पछि सफल ब्यापार गर्न सफल भएका छन् । सिलसिला, नाई नभन्नु ल, कहाँ भेटिएला आदि चलचित्रलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।
यति बेला फेरी पनि प्रदर्शनपूर्व नै एक चलचित्रको गीतसंगीतले पूर्वेली दर्शक श्रोताको मन जितिरहेको छ र त्यो चलचित्र हो निगरानी । शुशिल पोख्रेलको निर्माण र राजेन्द्र उप्रेतीले निर्देशन गरेको चलचित्र निगरानीमा बसन्त सापकोटाले सूमधुर संगीत दिएका छन् । चार गीत समाविष्ट चलचित्रमा संन्तोष लामा र प्रविशा अधिकारीले स्वर दिएको शिर्ष गीत यतिवेला पूर्वमा नेपाली चलचित्रको काउण्टडाउन बज्ने एफ एमका कार्यक्रमहरुमा शिर्ष स्थानमा कब्जा जमाई रहेको छ ।
यसका अलावा दिपक लिम्बु र माण्डवी त्रिपाठीको स्वर रहेको हरपल तिम्रो, आजै भेटियो लगायतका गीतहरु पनि श्रोताको मुखमा झुण्डिएका छन् । सिलसिला, टक्कर दुई मुटुको जस्ता चलचित्रमा उत्कृष्ट संगीत दिएका बसन्त सापकोटा निगरानीको उत्कृष्ट संगीत मार्फत फेरी पनि चर्चाको शिखरमा छन् । धरान स्थित दन्तकाली एफएमका प्राविधिक कृष्ण भूजेल श्रोताले गीतसंगीत रोजाई गर्ने कार्यक्रममा निगरानीको गीतलाई अत्याधिक अनुरोध गर्न थालेको बताउँछन् । उता झापा मोरङका एफएमहरुमा पनि गीत अनुरोध गर्ने श्रोताहरुको जमात बढेको त्यहाँका एफएमहरुमा कार्यरत संचारकर्मीहरु बताउँछन् ।
पूर्वबाट श्रोताको आफ्नो चलचित्र प्रति सद्भाव बढेको पाउँदा निर्माता पोख्रेल पनि मख्ख छन् । चलचित्र समग्रमा राम्रो बनेको हुँदा पूर्वका दर्शकले गीतसंगीतमात्र होईन चलचित्र पनि रुचाउने उनको दावी छ । चैत्रको दोश्रो अथवा तेश्रो साताबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र पूर्वमा भने विर्तामोड, दमक, धरान, विराटचौक, झुम्का लगायतका स्थानहरुमा प्रर्दशन हुनेछ ।
गीतसंगीतबाट राम्रै चर्चा पाउन सफल निगरानीले दर्शकमाथी कत्तिको निगरानी राख्न सफल हुने हो त्यो त चलचित्र प्रदर्शन पछि नै थाहा हुनेछ ।