मंगलबार मध्यान्न करिब साढे एक बजे तिर काठमाण्डौको ठमेल नजिकैको अस्कल क्याम्पस अगाडी चलचित्र 'गुडबाई काठमाण्डौ' को सुटिङ युनिट माथी प्रहरीले हस्तक्षेप मात्र गरेन की चलचित्रका सह-निर्माता तथा सह-निर्देशक किरण पौडेल र मुख्यसहायक निर्देशक राजेश बिश्वकर्मालाई दुई घण्टा हिरासतमा समेत लियो ।
काठमाण्डौको ठमेल स्थित बैसाली होटल र काठमाण्डौ गेस्ट हाउस वरपरका स्थानहरूमा छायाँकन सकेर अस्कल क्याम्पस अगाडी राखेको भ्यान मा चढेर पाटन निस्कन लागेको सो चलचित्रको युनिटमाथी प्रहरीले हस्तक्षेप गरि अपशब्द प्रयोग गर्दै आफूहरूलाई अभद्र व्यबहार गरेको चलचित्रका सहनिर्माता तथा सहनिर्देशक किरण पौडेलले फिल्मीखबरलाई जानकारी दिए ।
फिल्मीखबरसँग कुरागर्दै पौडेलले भने, 'नायक कर्म र प्रहरीको चेजिङका केहि सिनहरू भएकोले हामीले मंगलबार नक्कली हातहतियारको प्रयोग गरेर ठमेल स्थित बैसाली होटल र काठमाण्डौ गेस्ट हाउस वरपरका स्थानहरूमा छायाँकन गरेका थियौं । सो स्थानमा छायाँकन सकेर सुटिङका सामानहरूको साथमा ति नक्कली हातहतियार झोलामा राखी हामी पैदल हिंड्दै ठमेल नजिकैको अस्कल क्याम्पस अगाडी रहेको भ्यानमा चड्न जाने क्रममा लैनचौरबाट भ्यानमा आएको प्रहरीको युनिटले हातहतियारको प्रयोग गरेको भन्दै हामी माथी दुर्व्यवहार गर्दै राजेश जि र मलाई लैनचौरको महानगरिय प्रहरी प्रभागमा दुई घन्टा हिरासतमा लियो ।'
आफूहरूले सो नक्कली हातहतियार प्रयोग गर्न चलचित्र बिकास बोर्ड र नक्साल स्थित प्रहरी हेडक्वार्टरबाट इजाजत लिएको भएपनि कुरा नै नबुझी प्रहरी युनिटमाथी एक्कासी जाई लागेको पौडेलले बताए । पौडेलले भने, 'कला निर्देशकहरूले निर्माण गरेको सो नक्कली हातहतियार प्रयोग गर्न लिएको इजाजत पत्र देखाउँदा पनि प्रहरीले जबर्जस्ती गरेकोले प्रहरीको यस्तो अपमान चलचित्र युनिटको मात्र नभएर सम्पूर्ण चलचित्र उधोगको नै अपमान हो ।'
गत बर्षको जाडो याममा छायाँकन शुरू गरेर बिचमा रोकिएको सो चलचित्रको छायाँकन अहिले अन्तिम चरणमा पुगेको पौडेलले जानकारी गराए । नबिन सुब्बाको निर्देशनमा बनेको सो चलचित्रमा माल्भिका सुब्बा, कर्म, टिका पहारी, निखिल गुरूङ, सुवर्ण थापाले मुख्य भुमिका निर्वाह गरेका छन् । चलचित्र 'गुडबाई काठमाण्डौ' सन् २००४ को द्वन्दको प्रतिबिम्ब रहेको निर्देशक सुब्बाको भनाई छ । चलचित्रलाई पूर्ण सिंह बराईलीले निर्माण गरेका हुन् ।