शुक्रबार अर्थात भोलीका दिन चलचित्र पत्रकारहरू बिच चुनावी लडाईं हुँदैछ । राजधानीको नक्साल स्थित होटल क्राउन प्लाजामा चलचित्र पत्रकार संघको साधारण सभाले नयाँ कार्यसमिती चयन गर्दैछ र त्यही कार्यसमितिका लागी उम्मेदवार पत्रकारहरू बिच चुनावी भिडन्त हुन लागेको हो ।
चलचित्र पत्रकार संघको नयाँ कार्यसमितीका लागी अध्यक्ष पदमा बिदूर गिरी, अनन्त वाग्ले र डब्बु क्षेत्रीको नाम त केहि दिन देखिनै चर्चामा आएको थियो तर चुनावको मिती नजिंकिदै गर्दा अर्का पत्रकार डिपी शाह 'चक्रवर्ती' ले पनि अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी दिने बताएका छन् । त्यसैले भोली हुने चुनावमा अध्यक्ष पदका लागी चार जना पत्रकारहरू बिच भिडन्त हुने देखिएको छ ।
लामो समयदेखि नेपाली चलचित्रको पत्रकारिता गर्दै आएका यि चार जना पत्रकारहरू मध्ये अनन्त वाग्ले र डिपी शाह 'चक्रवर्ती' चलचित्र पत्रकार संघको संस्थापक उपाध्यक्ष हुन् भने पत्रकार बिदूर गिरीले अध्यक्ष पदमा एक कार्यकाल बिताई सकेका छन् । त्यसैगरी पत्रकार डब्बु क्षेत्रीले पनि उपाध्यक्ष र महासचिव पदमा एक/एक कार्यकाल बिताई सकेका छन् । डब्बु संघको निवर्तमान उपाध्यक्ष भएपनि उनले एक बर्ष अगाडी नै उपाध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
त्यस्तै उपाध्यक्ष र महासचिव पदका लागी पनि तीन जना उम्मेदवारले आफ्नो पत्रकारको नाम चर्चा छ । जसमध्ये उपाध्यक्ष पदका लागी श्याम तण्दुकार, आरडी शृंखला र दयाराम पाण्डे भिड्ने भएका छन् भने महासचिव पदका लागी लक्ष्मण सुवेदी, संदीप सापकोता र राजन घिमिरे बिच भिडन्त हुने करिब पक्का पक्की नै भएको छ । त्यसैगरी सचिव पदमा भने अहिलेसम्म उत्तम गौडेल मात्र अगाडी देखिएका छन् । यता कोषाध्यक्ष पदमा सुमन दाहाल र जयन सुब्बाले उम्मेदवारी दिने बताईएको छ ।
भोली हुने चुनावका लागि मतदान गर्न नविकरण गराएक जम्मा ५७ जना पत्रकारहरूको नाम सार्वजनिक गरिएको छ । सो चुनावमा निर्वाचन अधिकृतको रूपमा निर्देशक नारायण पुरी, निर्माता प्रदिप उदय र नृत्यनिर्देशक राजु शाह रहेका छन् । संघको साधारण सभा बिहान १० बजेबाट शुरू हुने संघका निवर्तमान अध्यक्ष शान्ति प्रियले जानकारी दिए ।
अहिले सो चुनावका लागी चलचित्र पत्रकारहरू आ-आफ्नै प्यानललाई जिताउन बिभिन्न चाल चलिरहेको बुझिएको छ । एकले अर्कालाई आरोप प्रत्यारोप लगाउनमा केहि पत्रकारहरू लागि परेको पनि बुझिएको छ । चलचित्र पत्रकारितालाई मर्यादित बनाउन छोडेर एकले अर्कालाई आरोप प्रत्यारोप लगाउनु पक्कै पनि चलचित्र पत्रकारका लागि यो हितको बिषय हुनेछैन ।