अबरूद्व चलचित्र 'आई एम सरी' को छायाँकन यहि फाल्गुन २१ गतेबाट शुरू भएको छ । करिब नौ महिना अगाडी छायाँकन शुरू गरिएको सो चलचित्रको छायाँकन राजधानीका बिभिन्न स्थानमा भईरहेको छ ।
अहिले चलचित्रको छायाँकन बालाजु स्थित चलचित्र विकाश कम्पनीको ल्याबमा सेट लगाएर गरिंदैछ । बिहिबार ल्याबमा रातभर छायाँकन गरेर शुक्रबार ब्रेक गरी शनिबार किर्तिपुरमा चलचित्रको छायाँकन गरिने निर्माता हरि महतले फिल्मीखबरलाई जानकारी दिए । करिब ३० % छायाँकन गर्न बाँकी रहेको सो चलचित्रको २० दिन भित्रमा छायाँकन सकि छिट्टै नै दर्शकमाझ ल्याउने निर्देशक दिनेश राउतले जानकारी दिए ।
सच्चा प्रेम जहिले पनि चिरस्थायी र सफल हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गर्न खोजिएको सो चलचित्रमा आर्यन सिक्देल र केकी अधिकारी प्रमुख भुमिकामा छन् । यि दुई कलाकारको साथमा श्याम अर्याल, निता ढुंगाना, विष्णु सापकोटा, अञ्जु केसीलगायतले अभिनय गरेका छन् । साहन मुभी मेकर्सको ब्यानरमा निर्माण भएको सो चलचित्रमा ताराप्रकाशको संगीत, प्रदीप भारद्वाजको लेखन, कविराज गहतराजको नृत्यनिर्देशन, पुरुषोत्तम प्रधानको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।